नास आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा दीपेन चापागाईं चयन

अनलाइनसमय |
१९ भदौ २०८३
नास आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा दीपेन चापागाईं चयन

काठमाडौं, १९ भदौ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्थालाई ध्यानमा राख्दै नास आईटीले सीमित रूपमा साधारणसभा सम्पन्न गरेको हो ।

सभाको सुरुवातमै विपद्मा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । नास–आईटीले मृतकप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ ।

विपद्को अवस्थालाई ध्यानमा राख्दै संस्थाले यसअघि तय गरेका अन्य कार्यक्रमहरू रद्द गरी साधारणसभाका औपचारिक तथा वैधानिक कार्यसूची मात्रै अघि बढाएको थियो ।

 

चौथो साधारणसभाबाट आगामी तीन वर्षका लागि नौ जना बोर्ड सदस्य निर्वाचित भएका छन् ।

९ जना बोर्ड सदस्यमध्येबाट सन् २०२६–२०२७ का लागि दीपेन चापागाईं अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, विभूषण बिष्ट उपाध्यक्ष, श्रेया श्रेष्ठ महासचिव र सागर केसी कोषाध्यक्षमा निर्वाचित भएका छन् । बाँकी पाँच जना निर्वाचित बोर्ड सदस्यले कार्यसमिति सदस्यका रूपमा काम गर्नेछन् ।

नवनिर्वाचित पदाधिकारी तथा बोर्डले नेपालको प्रविधि उद्योगको विकास र विस्तारका लागि संस्थाको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिने जनाएको छ ।

यस्तै नयाँ कार्यसमितिले नास आईटीका आफ्ना सदस्य कम्पनी, सरकार, शैक्षिक क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग सहकार्यलाई थप मजबुत बनाउने जनाएको छ । नेपालमा प्रविधि उद्योगको विकाससँगै नेपाली प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्न संस्थाले काम गर्नेछ ।

नास आईटी नेपालका सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैरनाफामूलक उद्योग संगठन हो । संस्थाले नीति पैरवी, उद्योग विकास, प्रतिभा तथा जनशक्ति विकास, अन्तर्राष्ट्रिय बजार पहुँच र सहकार्यका क्षेत्रमा काम गर्दै नेपालको प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । साथै, नेपाललाई विश्वसनीय विश्वव्यापी प्रविधि हबका रूपमा स्थापित गर्ने दिशामा समेत संस्थाले पहल गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस