काठमाडौं, २ भदौ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो महिना साउनमा गत आवको सोही महिनाको तुलनामा ८४ दशमलव ३४ प्रतिशतले घटेको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसारसाउनमा १९१ परियोजनाका लागि ३ अर्ब ७७ करोड २८ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको छ । गत आवको साउनमा २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।
अघिल्लो महिना असारको तुलनामा यस्तो प्रतिबद्धता ६६ दशमलव ५७ प्रतिशतले घटेको छ । असारमा १० अर्ब ३८ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।
साउनमा अटोमेटिक रूटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो महिनामा यसमार्फत १८७ उद्योगका लागि ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अप्रुभल रूटबाट ४ उद्योगका लागि २९ करोड ९४ लाख र शेयर खरिदबाट ३ उद्योगमा २५ करोड ४० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालू आवको साउनमा १८८ वटा साना उद्योग, २ वटा मझौला र एउटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा १ हजार ७७३ जनाले रोजगारी पाउनेछन् ।
विभागका अनुसार साउनमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा आएको कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ४३ दशमलव ४१ प्रतिशत अर्थात् १ अर्ब ६४ करोड रुपेयाँ प्राप्त भएको छ । यो क्षेत्रका ३३ वटा उद्योगका लागि यस्तो प्रतिबद्धता आएको हो ।
त्यस्तै त्पादनमुलक क्षेत्रमा ८४ करोड ३२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता भित्रिए यस क्षेत्रका ९ उद्योग स्थापना हुने छन् । साउनमा आईसीटी क्षेत्रमा १२८ उद्योगका लागि ५६ करोड ९८ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।