काठमाडौं, १ साउन । मुलुककै व्यस्त औद्योगिक तथा व्यापारिक शहरका साथै प्रमुख भन्सार नाका वीरगञ्ज । यसै महानगरपालिका–२५ मा पर्ने सिरसियाको एक गल्ली । जेठको उखरमाउलो गर्मी छ । एउटा सानो कारखानाबाट फलाम काट्ने मेसिनको आवाज एकनास आइरहेको छ । तर त्यसको पर्वाह नगरी कसैले स्टीलका पाता नापिरहेका छन्, कोही वेल्डिङ गरिरहेका छन् । कतै नयाँ दराजका ढोका जडान हुँदैछन् त कतै पलङको फ्रेम तयार पारिँदैछ । कारखानाको एउटा कुनामा बसेर एक महिला श्रमिकहरूसँग कामको प्रगति बुझिरहेकी छन् । यो दृश्य हो उद्यमी उर्मीलादेवी कुर्मीको दराज उद्योगको ।
सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएकी उर्मिलादेवीको घरपरिवारको अवस्था सहज थिएन । श्रीमान् विनोद कुर्मी अरूको कारखानामा फर्निचरको काम गर्थे । आम्दानीको मुख्य स्रोत दैनिक ज्यालादारी थियो । तर त्यसले घरखर्च धान्नै मुश्किल हुन्थ्यो । आवश्यक परेका बेला आफन्त र छिमेकीले समेत ऋण पत्याउँदैनथे ।
एक दिन गाउँमा छिमेक लघुवित्त वित्तीय संस्थाका कर्मचारी पुगे, जहाँ संस्थाको उद्देश्य, बचत तथा साना कर्जा र महिलाको आर्थिक सशक्तीकरणबारे छलफल भयो । उर्मीलादेवीले त्यसलाई निकै चासोका साथ सुनिन् । उनलाई लाग्यो, यो आफ्ना लागि उपयुक्त अवसर बन्न सक्छ ।
आफैले आयआर्जनमुखी काम गर्ने उर्मीलादेवीको पहिलेदेखिकै चाहना थियो । त्यसलाई नजिकबाट बुझेका श्रीमान् विनोदले उनलाई लघुवित्तको कार्यक्रममा सहभागी हुन दिए । लघुवित्तको बैठकमा उनले वित्तीय साक्षरता, बचत, उद्यमशीलता र विभिन्न शीपमूलक तालिम प्राप्त गरिन्, जसले उनको जीवनमा नयाँ मोड ल्यायो । त्यसपछि यो दम्पतीले एउटा निर्णय गरे– सानै भए पनि आफ्नै उद्यम शुरू गर्ने ।
त्यसपछि उनीहरूले कमाएको पैसा थोरैथोरै बचत गर्न थाले । छिमेक लघुवित्तबाट उर्मिलादेवीले पहिलोपटक १० हजार ऋण पाइन् । जम्मा गरेको पैसा र कर्जाले उनीहरूले केही जग्गा भाडामा लिए र स्टीलका दराज बनाउने लघु उद्योग सञ्चालन गरे ।
व्यवसाय शुरू भयो, चुनौतीहरू पनि थपिए । कच्चा पदार्थ र दक्ष कामदार पाउन सहज थिएन । ग्राहक सीमित थिए । तर उनीहरूले हार मानेनन् । वर्षौंसम्म उद्योगको अधिकांश काम परिवारकै सदस्यले सम्हाले ।
गुणस्तरीय सामग्री उत्पादन गर्न थालेपछि विस्तारै ग्राहक बढ्न थाले । बजारमा स्टील दराजको माग पनि बढ्दै गयो । विक्रीसँगै आम्दानी पनि राम्रो भयो । आज त्यही सानो उद्योग १० जनाको रोजगारीको आधार बनेको छ ।
उर्मिलादेवी छिमेक लघुवित्तमा आबद्ध भएको २२ वर्ष भयो । १० हजारबाट शुरू भएको कर्जा अहिले ५ लाखसम्म पुगेको छ । प्रत्येक कर्जा उनले व्यवसायमै लगाएकी छिन् । उद्योगमा वार्षिक करीब ६० लाखको कारोबार तथा १० देखि १५ लाख आम्दानी हुने गरेको उनी सुनाउँछिन् । यो आम्दानीले समयमै कर्जाको किस्ता तिर्न र घरखर्च चलाउन सजिलो भएको छ । केही रकम बचत समेत हुने गरेको छ ।
केही समयअघि छिमेक लघुवित्त वित्तीय संस्थाले उर्मिलादेवीलाई सफल व्यवसायीको रूपमा सम्मान ग¥यो । पुरस्कृत हुँदै गर्दा उनी आफ्नो विगत सम्झेर भावुक भइन् । कुनै समय घरखर्च टार्नै धौधौ हुने कुर्मी परिवार आज आफ्नै उद्योग चलाएर आत्मनिर्भर भएको छ । यसले यो दम्पत्तीको सामाजिक प्रतिष्ठा र सम्मान बढेको छ ।
उर्मिलादेवीको सफलताले समाजका अन्य मानिसलाई पनि उद्यम व्यवसायमा लाग्न प्रेरित गरेको छ । आज आफू र आफ्नो परिवार जुन अवस्थामा छ, त्यसमा छिमेक लघुवित्तको महत्वपूर्ण साथ रहेको उर्मिलादेवी बताउँछिन् ।
आगामी दिनमा लगानी उद्योगको क्षमता बढाउने र अझै धेरैलाई रोजगारी दिने उनको योजना छ ।
छिमेक लघुवित्त वित्तीय संस्थाको पर्सास्थित ड्राइपोर्ट शाखामा २०८३ जेठसम्ममा ३ हजार ३२ सदस्य छन् । तीमध्ये २ हजार १०० जना ऋणी सदस्य हुन् । हाल शाखाबाट ४४ करोड ऋण प्रवाह भएको छ । सबैभन्दा धेरै लगानी कृषि क्षेत्रमा छ । यसबाहेक व्यापार, वैदेशिक रोजगारी लगायतका क्षेत्रमा पनि कर्जा लगानी छ ।
यस शाखाले आफ्ना सदस्यलाई ऋण मात्र होइन, वित्तीय साक्षरताका साथै समयमै किस्ता तिर्ने सदस्यलाई पुरस्कार तथा सदस्यका छोराछोरीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ ।
बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :