धितोपत्र कारोबारमा क्लोजआउट समस्या : अक्सन मार्केट हुन सक्छ न्यूनीकरणको उपयुक्त विकल्प (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१२ असार २०८३
धितोपत्र कारोबारमा क्लोजआउट समस्या : अक्सन मार्केट हुन सक्छ न्यूनीकरणको उपयुक्त विकल्प (भिडियो रिपोर्ट)

काठमाडौं, १२ असार । के तपाईं धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नुहुन्छ ? कारोबार गर्दा ध्यान दिनुपर्ने प्राविधिक विषयबारे थाहा छ ? विशेषगरी विक्री गरिएका धितोपत्र समयमै हस्तान्तरण नगर्दा सम्बन्धित शेयर विक्रेताको विश्वसनीयता घट्ने मात्र होइन, आर्थिक जरीवाना समेत हुने गर्छ । हो, प्राविधिक भाषामा क्लोजआउटमा पर्ने भनिने यो समस्या धेरैले भोगेका हुन सक्छन् ।
के हो क्लोजआउट ? किन पर्छन् लगानीकर्ता ?

हाल नेपालमा टी प्लस टु अर्थात् शेयर कारोबार भएको दुई दिनभित्र राफसाफ भइसक्नुपर्ने व्यवस्था छ, जसअनुसार शेयर विक्रेताले विक्री संख्या बराबरको शेयर एक दिनभित्र इडीआईसमार्फत ट्रान्सफर गर्नुपर्छ । विक्री भएको शेयर समयमा ट्रान्सफर नहुनुलाई ‘क्लोजआउट’ भनिन्छ । यस्तो शेयर समयमै बुझाउन नसकेमा विक्रेताले कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने कानुनी प्रावधान छ ।

आफ्नो डीम्याट खाता वा टिएमएस सिस्टममा कति शेयर बाँकी छ भन्ने हेक्का नराखी शेयर बिक्री गर्नु, सेयर विक्री गरिसकेपछि इडिआईएस गर्न बिर्सिनु तथा ढिलाइ गर्नु, यसको प्राविधिक प्रक्रियाबारे जानकार नहुनु लगायत क्लोजआउटमा पर्ने प्रमुख कारण हुन् ।

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट विनियमावली अनुसार समयमै शेयर उपलब्ध गराउन नसकेमा सिडिएस एन्ड क्लियरिङ लिमिटेडले नै स्वतः क्लोजआउट गरी जरिवाना गर्न सक्ने व्यवस्था छ । यद्यपि पछिल्ला वर्षमा क्लोजआउटमा पर्ने संख्यामा केही कमी आएको छ ।

यद्यपि, सबै लगानीकर्ता वित्तीय साक्षरताकै कमीले मात्र क्लोजआउटमा पर्दैनन् । कतिपय अवस्थामा प्राविधिक समस्याले पनि क्लोजआउटमा पर्ने सम्भावना हुन्छ ।

क्लोजआउटको समस्या न्यूनीकरणका लागि सबैभन्दा पहिले लगानीकर्ता आफै सचेत हुनुपर्छ । यसका लागि वित्तीय साक्षरताको पनि खाँचो छ । साथै प्राविधिक कारणले हुने क्लोजआउट न्यूनीकरणका लागि अक्सन मार्केट पनि एउटा विकल्प हुनसक्ने बताइएको छ ।

विगत ६ आर्थिक वर्षमा क्लोजआउटका कारण लगानीकर्ताले रू. ५८ करोड ४४ लाख जरिवाना तिरेका छन् । यस अवधिमा १ लाख १७ हजारभन्दा बढी कारोबार क्लोजआउटमा परेको थियो । जसको कारोबार रकम रू. २ अर्ब ९२ करोड रहेको छ । गत आर्थिक वर्षमा रू. ६३ करोड ४३ लाख बराबरको शेयर क्लोजआउटमा परेको थियो । चालू आर्थिक वर्षको जेठ पहिलो सातासम्ममा रू. ४९ करोड ७३ लाख बराबरको शेयर क्लोजआउटमा परेको छ ।

बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस