काठमाडौं, १ असार । गत आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनाको तुलनामा चालू आवको यसै अवधिमा आएको वैदेशिक लगानी प्रतिबद्धता २१ दशमलव ४३ प्रतिशतले घटेको छ ।
उद्योग विभागका अनुसार चालू आव २०८२/८३ को जेठसम्ममा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट) र अप्रुभल रूटमार्फत ४७ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । गत आवको सोही अवधिमा यस्तो प्रतिबद्धता ६० अर्ब ६० करोड ९४ लाख रुपैयाँ थियो ।
चालू आवको जेठसम्ममा अप्रुभल रूटबाट सबैभन्दा धरै विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा अप्रुभल रूटबाट २०३ उद्योगका लागि ३९ अर्ब ९० करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अटोमेटिक रूटबाट ७११ उद्योगका लागि ७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
जेठसम्ममा ८९४ वटा साना उद्योग, ११ वटा मझौला र ९ ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा २५ हजार ४५० जनाले रोजगारी पाउनेछन् ।
आईटी क्षेत्रमा २.३६ अर्ब लगानी प्रतिबद्धता
परियोजनाको हिसाबले सबैभन्दा धेरै सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार जेठसम्ममा आईटी क्षेत्रका ५७७ उद्योगमा २ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । गत आवमा यस क्षेत्रमा ३१३ उद्योगका लागि १ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।
लगानी रकमको हिसाबले भने सबैभन्दा धेरै कृषि क्षेत्रमा छ । चालू आवको जेठसम्ममा यस क्षेत्रमा १६ उद्योगका लागि २२ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै पर्यटन क्षेत्रमा १२ अर्ब ९९ करोड, रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता भित्रिए पर्यटन क्षेत्रका २०२ उद्योग स्थापना हुने छन् । जेठसम्ममा सेवामुलक क्षेत्रमा ४ अर्ब ५९ करोड, उत्पादनमुलक क्षेत्रमा ३ अर्ब ५७ करोड, उर्जामुलक क्षेत्रमा २३ करोड ४२ लाख, खनिजतर्फ ११ करोड ५० लाख र पूर्वाधरमुलक क्षेत्रमा १ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।