काठमाडौं, १५ जेठ । सरकारले शुक्रवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । राजनीतिक परिवर्तनपछिको ताजा जनादेश र झन्डै दुई तिहाई बहुमतसहित सत्तामा पुगेको रास्वपा सरकारको यो पहिलो बजेट हो । सरकार गठनपछिको शासकीय सुधारको सयदिने कार्यसूची र नीति तथा कार्यक्रम हेर्दा यसपटकको बजेटप्रति नागरिकको आशा र अपेक्षा चुलिएको छ । सर्वसाधारणको दैनिक जीवनमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले बजेटमा आम चासो बढ्नु स्वाभाविक पनि हो ।
त्यसो त बजेट भन्ने बित्तिकै धेरैलाई यो सरकार र संसद्को राजनीतिक एजेन्डा मात्र हो जस्तो लाग्न सक्छ । तर, सरकारले लिने करका नीति र विकासका योजना आम नागरिकको जीवनसँग जोडिएका हुन्छन् । नयाँ सरकारले गरेका जनमुखी प्रतिबद्धताका कारण पनि बजेटप्रति सर्वसाधारणको उत्साह बढेको देखिन्छ ।
नागरिकको दैनिक जीवनमा प्रत्यक्ष जोडिने अर्को विषय हो– मूल्यवृद्धि । पश्चिम एसियाको युद्धको प्रभावले इन्धनको मूल्यमूल्य र आपूर्ति प्रणाली खल्बलिँदा नेपाली भान्सा अहिले नै महँगो भइसकेको छ । यो अवस्थामा बजेट आउँदै गर्दा, ‘बजेट आएपछि मूल्य बढ्छ’ भन्ने नकारात्मक मनोविज्ञानले बजारमा मूल्यवृद्धिको जोखिम समेत बढाएको छ ।
बजेटकै कुरा गर्दा, नेपालको मुख्य रोग बजेट राम्रो नआउनु होइन, आएको बजेट कार्यान्वयन नहुनु हो । विगतका सरकारहरूले लोकप्रिय कार्यक्रम ल्याउने, तर निकै कम खर्च हुने प्रवृत्ति थियो । नयाँ सरकारले विकासको ‘डेलिभरी’ र ‘सुशासन’लाई केन्द्रमा राखेकाले सोहीअनुसार बजेट कार्यान्वयन हुनु अपरिहार्य छ ।
यता, सरकारले आफ्नो आम्दानी र खर्चको तालमेल मिलाउन नसक्दा देश ‘बजेट घाटा’मा जान्छ र ऋण लिनुपर्ने हुन्छ । यस्तै अवस्था अहिले नेपाली घरपरिवारमा पनि देखिन्छ । योजनाविना खर्च गर्दा धेरै परिवार ऋणको चक्रमा पर्ने गरेका छन् । त्यसैले, सरकारलाई बजेटसम्बन्धी सुझाव दिँदै गर्दा हामी आफैले पनि ‘पारिवारिक बजेट’ बनाउन आवश्यक छ ।
आगामी बजेटले समग्र देशको नीति र आर्थिक बाटो तय गर्ला । तर, हाम्रो घरको आर्थिक नीति कस्तो बनाउने भन्ने निर्णय भने हाम्रै हातमा छ । सरकारको बजेटलाई नजिकबाट नियालौं, खबरदारी गरौं र सँगै पारिवारिक बजेट बनाएर आफ्नो आर्थिक भविष्य पनि सुरक्षित बनाऔं ।
बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :