डिजिटल बैंकिङले घट्दै छ बैंक शाखा, ब्रिक बैकिङबाट अब क्लिक बैकिङ (भिडियो रिपोर्ट)
अनलाइनसमय |
८ जेठ २०८३
काठमाडौं, ८ जेठ । नेपालको बैंकिङ क्षेत्रमा भौतिक उपस्थितिको सञ्जाल खुम्चिने क्रम तीव्र बनेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार बैंकका शाखा र ‘शाखारहित बैंकिङ’ इकाइ ठूलो संख्यामा घटेका छन्् । विशेषगरी २०७९ सालसम्ममा उच्च संख्यामा पुगेका बैंकका शाखा त्यसयता लगातार घट्न थालेको देखिन्छ ।
तथ्यांक अनुसार २०७९ चैतमा बैंक तथा वित्तीय संस्थाको कुल शाखा ११ हजार ६४३ वटा रहेकोमा २०८२ चैतसम्म आइपुग्दा ११ हजार ४०१ मा सीमित छन् । गतवर्षको तुलनामा मात्रै यस वर्ष ११५ ओटा शाखा बन्द भएका छन् ।
बैंकहरूको शाखा सञ्जाल मात्र होइन, ग्रामीण भेगमा वित्तीय पहुँच पु¥याउन खोलिएका शाखारहित बैंकिङ इकाइ ५ वर्षमा ५० प्रतिशतले घटेका छन् । बैंक शाखा सञ्चालन गर्न नसकिने ठाउँमा वित्तीय सेवा विस्तारका लागि राष्ट्र बैंकले २०६८ सालदेखि शाखारहित बैंकिङ सेवाको अनुमति दिन थालेको थियो ।
२०७८ चैतमा १ हजार ५१८ ओटा रहेका यस्ता इकाइ २०८२ चैत मसान्तसम्म आइपुग्दा ७४६ मा झरेका छन् । ठूलो संख्यामा शाखारहित बैंकिङ इकाइ बन्द हुनुले बैंकिङ सेवाको भौतिक प्रणालीमा व्यापक परिवर्तन भएको संकेत गरेको छ ।
पछिल्लो समय नेपालमा डिजिटल बैंकिङले ठूलो फड्को मारे तापनि मुलुकको ग्रामीण क्षेत्र र दूरदराजसम्म भने अझै पनि यसको पहुँच विस्तार भइसकेको छैन । यो अवस्थामा सबै नागरिकसम्म सहज बैंकिङ पहुँच स्थापित गर्नुपर्ने चुनौती कायमै छ । यसका लागि बैंकिङ पूर्वाधार र वित्तीय साक्षरताको पनि आवश्यकता छ ।
त्यसो त बैंक शाखा घट्दा ग्राहक सेवा र कर्मचारीको रोजगारीमा असर पर्ने चिन्ता पनि छ । तर बैंकहरूका अनुसार प्रविधिले सञ्चालन खर्च घटाई सेवा प्रभावकारी बनाउने, ग्राहकलाई लाभ पुग्ने र कर्मचारीले पनि समयअनुसार आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्नेछ ।
राष्ट्र बैंकको पूर्वस्वीकृति बिना बैंकको शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द वा स्थानान्तरण गर्न र गाभ्न नसक्ने व्यवस्था छ । यद्यपि वाणिज्य बैंकहरूलाई महानगरपालिकाभित्रका शाखा भने राष्ट्र बैंकले तोकेका शर्तमा रहेर बन्द गर्न सक्ने सविधा दिइएको छ ।
बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :