काठमाडौं, २९ माघ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन् ।
पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना पीडितबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका–१४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका–२ बाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।