काठमाडौं, ८ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा नेपालले १६० मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये १२४ देशसँग व्यापार घाटामा हुँदा ३६ देशसँग मात्रै बचतमा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
गत पुस मसान्तसम्ममा नेपालले व्यापार गरेको मुलुकमध्ये सबैभन्दा धेरै व्यापार घाटा छिमेकी मुलुक भारतसँग भएको छ । भारतसँग ४ खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । सो अवधिमा भारतबाट ५ खर्ब २ अर्ब ८५ करोडको सामान भित्रिएको छ भने ७३ अर्ब ७१ करोडको मात्रै निर्यात गरेको छ ।
अर्को छिमेकी मुलुक चीनसँग पनि नेपाल व्यापार घाटामै छ । चीन भारतपछि सबैभन्दा धेरै व्यापार घाटा हुने मुलुक हो । आवको ६ महिनामा नेपालले चीनसँग १ खर्ब ५८ अर्ब ६२ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । सो अवधिमा १ खर्ब ६० अर्ब ५४ करोडको सामान आयात हुँदा १ अर्ब ९२ करोडको मात्रै निर्यात भएको छ । यसपछि अर्जेन्टीना, युक्रेन र यूनाइटटेड अरव इमिरेट्स (युएई) क्रमशः धेरै व्यापार घाटा भएका मुलुकहरू हुन् ।
व्यापार घाटामा रहेका पाँच मुलुक (रू. हजारमा)
स्रोत : भन्सार विभाग
२०८१ को पुस मसान्तसम्ममा नेपाल सबैभन्दा बढी व्यापार बचतमा रहेको मुलुक अफगानिस्तान हो । अफगानिस्थानबाट १ करोड २३ लाखको सामान भित्रिएको छ । सो अवधिमा नेपालबाट भने ४७ करोड ५६ लाखको निर्यात गरेको छ ।
आवको ६ महिनामा दोस्रो धेरै व्यापार बचतमा डेनमार्क रहेको छ । सो अवधिमा डेनमार्कबाट १२ करोड १२ लाखको सामान आयात गर्दा ३५ करोड बराबरको निर्यात गरेको छ । यसपछि अष्ट्रिया, रूसी मखासंघ र लाटभिया क्रमशः बढी व्यापार बचतमा रहेका छन् ।
बचतमा रहेका पाँच मुलुक (रू. हजारमा)
स्रोत : भन्सार विभाग