काठमाडौं, ७ असोज । चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ । पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरेको हो। रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ ।
कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो । निवेदनपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोली रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि विभागले रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता दिएको हो । नेपाल सरकार, पर्यटन विभाग द्वारा देश भर रहेका होटलहरु मध्ये हाल सम्म यस प्रकारको पाँचतारे डिलक्सको मान्यता अन्य तीन होटल लाई दिएको देखिन्छ ।
उपलब्ध भएसम्मका स्थानीय निर्माण सामग्रीहरु जस्तै काठ–फर्निचर, ढुंगा टायल र ढुंगाले छाएको छाना, जुटबात निर्मित गलैंचा, स्थानीय आर्टिस्टले काठमा गरेको पेन्टिङ, स्थानीयले बनेको सजावका सामानहरु, मान्द्रो आदिको ब्यापक प्रयोग गरिएको उक्त रिसोर्टमा नेपालीपन झल्काउने थुप्रै कुराहरु समेटिएका छन् ।
विभागबाट रिसोर्ट निरीक्षण गर्न पुगेका अधिकारीहरुले रोयल टुलिप चितवनले अत्याधुनिक प्रविधि को प्रयोग गर्दै संचालित वातावरणमैत्री यस रिसोर्टले नेपाली आतिथ्यताको नयाँ मानक बनाएको र यसलाइ निरन्तता दिने विश्वास समेत व्यक्त गरेका थिए ।
राप्ती नदी समिप जनकौली र कुमरोज सामुदायिक वन नजिकै ४।१२ एकड क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत रिभोल्भिंग रेस्टुरेन्ट समेतका सुविधा छन् । त्यसका साथै नेपालमै पहिलोपटक ‘तनावीबार’ सञ्चालन गरिरहेको छ । मध्यरात मनोरञ्जनका लागि छुट्टै ‘स्पोट्र्सबार’ समेत सञ्चालन भइरहेको छ ।
यसको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स् ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ । कम्पनीले सन् २०२५ जुलाईदेखि रिसोर्टको सफ्ट ओपनिङ सुरु गरी डिसेम्बर मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो ।
यसैबीच, केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता ९कुल १५ करोड ५० लाख रुपैयाँ बराबर० साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई डबल ‘बी माइनस’ रेटिङ प्रदान गरेको छ । रिसोर्टको कुल परियोजना लागत करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको र आईपीओपछि ऋण–स्वपूँजी अनुपात ६१.५ : ३८.५ कायम हुने प्रक्षेपण गरिएको छ । रेटिङ प्रतिवेदनले अन्तर्राष्ट्रिय ब्रान्ड आबद्धता र अनुभवी प्रवद्र्धक समूहलाई कम्पनीको सबल पक्षका रूपमा औंल्याएको छ ।
केटीएम हस्पिटालिटी २०८१ असार २५ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले गरिरहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य हो । रोयल ट्युलिप चितवनको स्तरीकरणले चितवनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग थप जोड्ने र क्षेत्रको पर्यटन उद्योगमा सकारात्मक सन्देश दिने पर्यटन व्यवसायीहरूको अपेक्षा छ ।