काठमाडौं, ५ मंसिर । चेक बाउन्स मुद्दामा पक्राउ परेका गुण्डा नाइके सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन् ।
काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो । त्यसपछि उनलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतको निर्देशनपछि लामालाई डिल्लीबजार कारागार चलान गरिएको परिसर काठमाडौंले जनाएको छ ।
लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।
पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी हुन् । २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । त्यस्तै उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो ।