काठमाडौं, ६ कार्तिक । कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको भारतीय रकम सहित दुई जना पक्राउ परेका छन् ।
सोमबार राति कृष्णनगर नगरपालिका २ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गडीहरूलाई चेकजाँच गर्दा २० लाख पचास हजार भारतीय रकम बरामद गरिएको हो ।
चेकजाँच गर्ने क्रममा यु पी ४५ ए एस ६६६३ नं. गाडीमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३३ वर्षीय सलमान कुरेसियाको झोलाबाट ८ लाख र यु पी ४२ डी टी ५७२१ नं. को गाडीमा सवार सोही स्थानका ३९ वर्षीय उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको रकम सहित दुवै जनालाई थप अनुसन्धान एवम् कारबाही लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।