काठमाडौं, ८ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा मुक्तान लामालाई नियुक्त गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
मंगलबार सफलता बोगटीसहितले उनको नियुक्ति खारेज गर्न माग राख्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ ।
आनीको नागरिकतामाथि प्रश्न रहेको र विगतमा सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान भएको दाबी गर्दै रिट पेस भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा) लाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।