काठमाडौं, १ मंसिर । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
सुनसँगै बूढानीलकण्ठबाट पक्राउ परेका चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन कारागार चलान भएका हुन् ।
गत असोज २२ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठको माथिल्लो भंगालस्थित एक घर भाडामा लिएर सुनको अवैध कारखाना नै चलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई भन्सार ऐन अनुसारको कसुरमा कारबाही गर्न भन्दै विभानस्थल भन्सार कार्यालय पठाइएको थियो ।
तीनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएपछि कारागार पठाइएको एसएसपी सन्तोष खड्काले बताए ।