नेपाल बैंकको ९०औं वार्षिकोत्सव सम्पन्न, फोने लोन, बीएनपीएल क्रेडिटकार्ड र अनलाइन लोन एप्लिकेसनको शुभारम्भ

अनलाइनसमय |
१ मंसिर २०८३
नेपाल बैंकको ९०औं वार्षिकोत्सव सम्पन्न, फोने लोन, बीएनपीएल क्रेडिटकार्ड र अनलाइन लोन एप्लिकेसनको शुभारम्भ

काठमाडौं, १ मंसिर । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८९ वर्ष पूरा गरी ९०औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा प्रधान कार्यालय धर्मपथ, काठमाडौंको प्राङ्गणमा ९०औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकले मिति २०८३ कार्तिक ३० गते सोमबार एक विशेष समारोहको आयोजना गरी आफ्नो गौरवमय यात्राको उत्सव मनाएको हो ।

समारोहका प्रमुख अतिथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकका तीन महत्त्वपूर्ण नवीनतम डिजिटल सेवाहरू ( फोने लोन, बाइ नाउ पे लेटर क्रेडिटकार्ड र अनलाइन लोन एप्लिकेसन पोर्टल)को औपचारिक शुभारम्भ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले उत्पादन र उद्यमशीलता प्रवद्र्धन गर्न कृषि, जलविद्युत, पर्यटन, सूचना प्रविधि, निर्यातमुलक उद्योग तथा साना र मझौला उद्योगमा कर्जा लगानी विस्तार गरी बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

साथै, संस्थागत सुशासन र वित्तीय अनुशासनमार्फत जनविश्वास कायम राख्दै डिजिटल रूपान्तरण, साइबर सुरक्षा र तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिन उनले निर्देशन दिए । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्नेमा उनको जोड थियो ।

बैंकको वर्तमान सञ्जाल र डिजिटल पहुँच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घ बहादुर रावलको विशिष्ट आतिथ्यता र बैंक सञ्चालक समितिका सदस्य बद्री खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले स्वागत मन्तव्य राख्दै बैंकको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

हाल नेपाल बैंकले देशभरका २३० वटा शाखा, २५० वटा एटिएम र ५७ वटा एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको छ । प्रविधिमैत्री सेवा विस्तार गर्ने क्रममा बैंकका करिब १६ लाख ग्राहकहरू डिजिटल बैंकिङ सुविधाबाट प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

कर्मचारी तथा उत्कृष्ट शाखाहरूको सम्मान वार्षिकोत्सवको अवसरमा बैंकमा २५ वर्ष अटुट सेवा प्रदान गर्ने ३ जना र २० वर्ष अटुट सेवा गर्ने १० जना कर्मचारीहरूलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । यस्तै, प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने १२ वटा शाखाहरूलाई पुरस्कृत गरिएको थियो ।

प्राकृतिक विपत्तिको प्रतिकूल अवस्थामा पनि बैंकिङ सेवालाई सुचारु राख्ने त्रिशुली र धुन्चे शाखालाई विशेष सम्मान गरिनुका साथै विषम परिस्थितिमा बैंकको सम्पत्तिको साहसपूर्वक संरक्षण गर्ने स्याफ्रुबेशी एक्सटेन्सन काउन्टर (धुन्चे शाखा) का कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई कदरपत्र प्रदान गरियो ।

सभाका अध्यक्ष बद्री खनालले सम्पूर्ण कर्मचारीहरूलाई उच्च मनोबल र इमान्दारीका साथ कार्यक्षेत्रमा खटिन प्रेरित गर्दै कार्यक्रम समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस