काठमाडौं, २९ कात्तिक । चालू आर्थिक वर्ष (आव)को असोज मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या करिब ८२ लाख रहेका छन् । आन्तरिक राजस्व विभागका अनुसार सो अवधिमा प्यान लिने करदाताको संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो । व्यावसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका हुन् ।
गत आव २०८२/८३ को असार मसान्तसम्म ७९ लाख १० हजार ८६४ जनाले विभिन्न प्रकारका प्यान लिएका थिए । प्यान लिनेमा व्यक्तिगत करदाताको संख्या सबैभन्दा बढी छ । असोज मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ । असार मसान्तसम्म यस्तो संख्या ५६ लाख ९६ हजार ७०८ थियो । तीन महिनाको अवधिमा २ लाख ३१ हजार २२७ व्यक्तिगत प्यान थपिएका हुन् ।
त्यस्तै, व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या २२ लाख २७ हजार ८३७ पुगेको छ । गत असार मसान्तसम्म २१ लाख ७४ हजार ९१२ रहेको यो संख्या असोज मसान्तसम्म ५२ हजार ९२५ ले बढेको हो ।
असोज मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता हुनेको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ । गत असार मसान्तसम्म ३ लाख ७८ हजार २६८ रहेको यो संख्या तीन महिनामा ११ हजार ७७९ ले बढेको हो ।
गत असार मसान्तसम्म १ लाख ३२ हजार ६७२ रहेको अन्तःशुल्क दर्ता संख्या गत असोज मसान्तसम्म आइपुग्दा बढेर १ लाख ३८ हजार ९२६ पुगेको छ ।