काठमाडौं, १३ कात्तिक । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
मन्त्रालयले शुक्रबार एक शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको हो ।
सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको उक्त संस्थाले मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लंघन गरेको जनाएको छ ।
मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षहरूसँग असोज २३ गते छलफल गराएर राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट भदौ १२ गते जारी भएको निर्देशनबमोजिम गर्न आग्रहसमेत गरेको थियो । तर सोबमोजिम नगरिएकोले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन पालना नगरेको ठहर्दै ऐनको दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
साथै, उक्त सूचना जारी भएपश्चात् संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानूनी हुने हुँदा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत मन्त्रालयले सचेत गराएको छ ।