काठमाडौं, १३ कात्तिक । सुदूरपश्चिम प्रदेशमा कृषि उपजले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको ‘सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’का अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम्फलफूल तथा मसला) ले ढाकेको क्षेत्रफल २ दशमलव ११ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो क्षेत्रफल २.१७ प्रतिशतले वृद्धि भएको थियो ।
कृषी बाली लगाउने क्षेत्रफल डडेल्धुरा र कञ्चनपुर जिल्लामा क्रमश: २.० प्रतिशत र ०.७५ प्रतिशतले वृद्घि भएको छ भने बाकी जिल्लाहरु बझाङ, कैलाली, अछाम, दार्चुला, बाजुरा, डोटी र बैतडीमा क्रमश: ५.९७ प्रतिशत, ४.३१ प्रतिशत, ३.९६ प्रतिशत, २.०४ प्रतिशत, १.४९ प्रतिशत, ०.९६ प्रतिशत र ०.२८ प्रतिशतले ह्रास आएको छ ।
गत आवमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा २ दशमलव ६३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो क्षेत्रफलमा १.८८ प्रतिशतले वृद्घि भएको थियो । यस अवधिमा प्रमुख खाद्य तथा अन्य बालीहरुमध्ये धान ०.९७ प्रतिशत, गहँु १.४८ प्रतिशत, फापर ३.१७ प्रतिशत, उखु ०.७७ र भटमासले ढाकेको क्षेत्रफल ७.०१ प्रतिशतले वृद्घि भएको छ भने मकै ६.४१ प्रतिशत, कोदो ५.७५, जौँ २३.०१, आलु १.५९, दलहन ६.२२र तेलहन बालीले ढाकेको क्षेत्रफल ३४.४८ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा वर्षमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल २.४९ प्रतिशतले र फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल ३.२२ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, गत आवमा कृषि उपजले ढाकेको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको छ । गत आवमामा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम्फलफूल तथा मसला) को उत्पादन ०.८२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष समग्र कृषि बालीको उत्पादनमा २.९३ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन ०.७४ प्रतिशतले र तरकारी तथा बागवानीको उत्पादन ०.९१ प्रतिशतले वृद्धि भएको छ ।