काठमाडौं, १३ कात्तिक । भुटानको गसा जिल्लास्थित लेम्थाङ क्षेत्रमा हिमताल फुटेर भीषण बाढी आएपछि भारतको पश्चिम बङ्गालमा उच्च सतर्कता अपनाइएको छ । मो छु नदी हुँदै सङ्कोश नदीतर्फ बाढीको पानी तीव्र गतिमा बग्न थालेपछि सम्भावित जोखिमबाट जोगाउन १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको हो ।
भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार बाढीले गसा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल गसा छाछुस्थित प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधारमा क्षति पुर्याएको छ । घटनामा हालसम्म मानवीय क्षति वा कोही घाइते भएको विवरण सार्वजनिक भएको छैन ।
रातिको समयमा आएको बाढीका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । अँध्यारो र पानीको तीव्र बहावका कारण क्षतिको यकिन आकलन गर्न कठिनाइ भइरहेको बीबीएसले जनाएको छ । बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको आशंका गरिएको छ ।
भुटानी पत्रिका कुएनसेलका अनुसार तातोपानी क्षेत्र जोड्ने लाया गाउँको सडकका केही भाग बाढीले बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ । बाढी तातोपानी क्षेत्रमा पुग्नुअघि नै त्यहाँबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
पश्चिम बङ्गालमा विपद् व्यवस्थापन टोली परिचालन
भुटानमा हिमताल फुटेको खबर प्राप्त भएपछि पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ । सङ्कोश नदी र यसका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन र जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जाल एक्समार्फत दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् । भुटानको लेम्थाङमा हिमताल फुटेर मो छु नदी हुँदै सङ्कोश नदीतर्फ पानी बगिरहेकाले नदी आसपासका बस्ती जोखिममा पर्न सक्ने उनको भनाइ छ ।
राज्यमन्त्री निसिथ प्रामाणिकले पनि हिमताल फुटेको खबर प्राप्त हुनासाथ सङ्कोश र मो छु नदी आसपासका बासिन्दालाई सतर्क गराइएको बताएका छन् । बाढीको पानी पाँचदेखि छ घण्टाभित्र मैदानी क्षेत्रमा पुग्न सक्ने अनुमानपछि राज्य विपद् व्यवस्थापन टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) परिचालन गरिएको उनले जानकारी दिएका छन् ।