काठमाडौं, १३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा पत्रकारहरूसँग रात्रिभोजमा सहभागी भइरहेका समयमा गोली चलाउने सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् ।
रात्रिभोज जारी रहँदा नजिकै गोली चलेको आवाजपछि सुरक्षा अधिकारीहरूले घेरा हालेर ट्रम्पलाई हलबाहिर लगेका थिए ।
एकभन्दा धेरै हतियार बोकेका व्यक्तिलाई अमेरिकी सीक्रेट सर्भिसले नियन्त्रणमा लिएको ट्रम्पले बताएका छन् । नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।
घटनापछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ट्रम्पले राजनीति सबैभन्दा जोखिमपूर्ण पेसा भएको बताए । ‘यो भन्दा खतरनाक अरू कुनै पेसा होला जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘कुनै पनि देश यसबाट अछुतो छैन ।’
गोली प्रहारको आरोपमा पक्राउ परेका व्यक्ति क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको अधिकरीहरूले बताएका छन् । उनी रात्रिभोज चलिरहेको होटेलमै बसिरहेको वाशिङ्टन डीसीका प्रहरी प्रमुखले बताएका छन् । उनलाई सोमवार अदालतमा पेस गरिने अधिकारीहरूले बताएका छन् ।
सीक्रेट सर्भिसका एक जना अधिकारीलाई नजिकबाट प्रहार भएको गोली लागेको छ । तर बुलेट प्रुफ भेस्ट लगाएका कारण उनी बाँचेको ट्रम्पले ह्वाइट हाउसमा बताए । उनको उपचार भइरहेको बताइएको छ ।