काठमाडौं, ८ वैशाख । परराष्ट्रमन्त्री शिशिर खानालसँग आज तीन देशका राजदूतहरूले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार स्लोभेनियाका नवनियुक्त गैरआवासीय राजदूत महामहिम टोमाज मेन्चिनले परराष्ट्र मन्त्रालयमा मन्त्री खानालसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल–स्लोभेनिया सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बंगलादेशका राजदूत महामहिम शफिकुर रहमानले पनि मन्त्री खानालसँग भेट गरी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् ।

आजै क्यानडाका गैरआवासीय राजदूत महामहिम क्रिस्टोफर कुटरले समेत मन्त्री खानालसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा नेपाल–क्यानडा सम्बन्धका विभिन्न पक्ष तथा आपसी सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

आजै बिहान मन्त्री खनालले नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका थिए । भेटमा व्यापार तथा लगानीमा विशेष जोडसहित नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
