काठमाडौं, २९ कात्तिक । चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय विमानको सफल परीक्षण गरेको सिह्नाले जनाएको छ ।
चाइना कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) ले स्वदेशमै विकास गरेको विद्युतीय विमान पूर्वी प्रान्त सानडोङको बिनझोउमा आफ्नो पहिलो मानवीय (पाइलटसहितको) परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
सरकारी प्रसारक सीसीटीभीका अनुसार उक्त परीक्षण उडानमा दुई जना पाइलट र एक जना फ्लाइट टेस्ट इन्जिनियर सहभागी थिए ।
कम्पनीका अनुसार सम्पूर्ण परीक्षण सत्र झन्डै एक घण्टा (५७ मिनेट ४६ सेकेन्ड) सम्म चलेको थियो, जसमा विमान १६ मिनेटभन्दा केही बढी समय आकाशमा उडेको थियो र यसले ६०.४ किलोमिटर दूरी तय गरेको थियो ।
इन्जिनियरहरूका अनुसार उडानका क्रममा विमानका सबै प्रणालीहरूले सामान्य रूपमा काम गरेका थिए र विमानले पूर्ण रूपमा अपेक्षाअनुरूप प्रदर्शन गरेको थियो ।
महिनाौँ लामो मानवरहित परीक्षणपछि यो सफलता हासिल भएको हो । सीई– २५ एले गत फेब्रुअरी २ मा पहिलो पटक मानवरहित (स्वचालित) उडान भरेको थियो र विमानमा मानिस राखेर उडाउने अनुमति पाउनुअघि यसले १९ वटा स्वचालित प्रमाणीकरण उडानहरू पूरा गरेको थियो ।
यो परियोजना चाइना कमर्सियल एयरक्राफ्ट कर्पोरेसन, प्रमुख ब्याट्री उत्पादक कम्पनी सीएटीएल, सांघाई जिआओ टोङ विश्वविद्यालय र अन्य थुप्रै साझेदारहरूको संयुक्त प्रयासमा निर्माण गरिएको हो ।
अब यस विमानले चीनको नागरिक उड्डयन प्रशासन (सीएएसी) बाट एक महत्त्वपूर्ण चरण पार गरिसकेको छ । प्रशासनले यसको ‘टाइप सर्टिफिकेट’को आवेदन औपचारिक रूपमा स्वीकार गरेको छ, जुन कुनै पनि व्यावसायिक यात्रुवाहक विमानलाई नियमित सार्वजनिक प्रयोगका लागि स्वीकृति दिनुअघिको अनिवार्य कानुनी प्रक्रिया हो ।
सीई– २५ ए अन्तर–सहर (इन्टर्सिटी) उडानका लागि डिजाइन गरिएको चाइना कमर्सियल एयरक्राफ्ट कर्पोरेसनको पहिलो विद्युतीय व्यावसायिक विमान हो, जसमा १९ जना यात्रु अट्ने क्षमता छ। यसको अधिकतम उडान तौल (टेकअफ वेट) १० टन रहेको छ ।
यो विमानको सामान्य उडान गति (क्रुजिङ स्पिड) ३०० किलोमिटर प्रतिघण्टा र उचाइ (क्रुजिङ अल्टिच्युड) २,४०० मिटर रहेको छ । साथै, एक पटकमा यसको उडान दूरी (रेन्ज) ४०० किलोमिटर रहेको छ ।