चीन भ्रमणमा जानुअघि रास्वपा नेताहरूसँग प्रधानमन्त्री बालेनको छलफल

अनलाइनसमय |
२७ कार्तिक २०८३
चीन भ्रमणमा जानुअघि रास्वपा नेताहरूसँग प्रधानमन्त्री बालेनको छलफल

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय टोलीलाई भ्रमणलाई उपलब्धिमूलक बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले भ्रमणको तयारी, कार्यसूची र नेपाल–चीन सम्बन्धका विविध पक्षबारे सांसदहरूसँग कुराकानी गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक तथा विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीले व्यापार, व्यवसाय, प्रविधि, पर्यटन र कृषिलगायतका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । चीनले विभिन्न क्षेत्रमा हासिल गरेको प्रगति र अनुभवबाट नेपालले अधिकतम लाभ लिन सक्ने गरी भ्रमणका एजेन्डा तय गर्न पनि उनले सुझाव दिएका छन् ।

प्रधानमन्त्री शाहले भ्रमणलाई सामान्य घुमफिरमा मात्र सीमित नगरी दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक साझेदारी र विकासका सम्भावना खोज्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका थिए ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्दैछ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका स्थानको अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस