काठमाडौं, १३ कात्तिक । संयुक्त राष्ट्रसंघ महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेको ८१औं महासभा बैठकले उक्त निर्णय गरेको हो । महासभामा प्रस्ताव नम्बर ८१÷एल.८ सर्वसम्मतिले पारित गर्दै नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि निर्धारित तयारी अवधि थप गर्ने निर्णय गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको हो ।
निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ । नेपालले यस अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रुपान्तरणका लागि उपयोग गर्ने जनाएको छ ।
नेपाल सरकारले यसअघि २०८३ जेठ ८ मा अतिकम विकसित मुलुक बाट हुने निर्धारित स्तरोन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढाएको थियो ।
अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपाली नियोगले उक्त निर्णयका लागि नेपालले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति निरन्तरको सहयोग, ऐक्यबद्धता र समर्थनका लागि धन्यवाद व्यक्त गरेको छ ।