काठमाडौं, १२ कात्तिक । चालूु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालले १३३ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ३३ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको असोजसम्ममा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि डेनमार्क छ । सो अवधिमा नेपाल डेनमार्कसँग १७ करोड ३४ लाखभन्दा बढीको बचतमा छ । तीन महिनामा नेपालले डेनमार्कतर्फ ४२ करोड ४ लाख मूल्यभन्दा बढीको वस्तु निर्यात गरेको छ भने २४ करोड ७० लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।
डेनमार्कपछि नेपाल सबैभन्दा धेरै नेदरल्यान्डसँग बचतमा छ । असोजसम्ममा नेपालले नेदरल्यान्डतर्फ ५१ करोड ४३ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने ३५ करोड ५१ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ । अर्थात नेपाल सो अवधिमा नेदरल्यान्डसँग १६ करोड २५ लाख रुपैयाँले बचतमा छ ।
त्यस्तै, नेपाल प्यूर्टो रिकोसँग ११ करोड ५७ लाख मूल्य बराबरको व्यापार बचतमा छ । सो अवधिमा नेपालले त्यसतर्फ १२ करोड ४० लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा त्यहाँबाट ८३ लाख २७ हजारको वस्तु आयात गरेको छ ।
यसैगरी चालू आवको असोजसम्ममा नेपालले १३३ मलुकसँग व्यापार गर्दा ९९ मुलुकसँग व्यापार घाटा बेहोरेको छ । व्यापार घाटामा रहेका मुलुकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतसँग छ । चालू आवको वैशाखसम्ममा नेपालले भारतसँग मात्रै २ खर्ब ७१ अर्ब १९ करोडभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले भारतबाट ३ खर्ब ६६ अर्ब ७८ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ ९५ अर्ब ५९ करोडको वस्तु निर्यात गरेको छ ।
भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । तीन महिनामा नेपालले चीनतर्फ ६७ करोड ५ लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा आयात भने १ खर्ब ३४ अर्ब ३१ करोडभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग १ खर्ब ३३ अर्ब ६३ करोडभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।
यस्तै अर्जेन्टिनासँग ३५ अर्ब ६३ करोड, साउदी अरेबीयासँग ११ अर्ब ५६ करोड, ब्राजीलसँग ९ अर्ब ३ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।