काठमाडौं, १२ कात्तिक । स्पेनको मध्य भागमा बुधबार बिहान दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा ६८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् भने रेलका केही डिब्बा लिकबाट खसेर भिरालो भागमा पुगेका थिए ।
आपत्कालीन उद्धार टोलीहरूले रातभर शक्तिशाली फ्लडलाइटको मद्दतले धातुका डिब्बाहरू काटेर पीडितहरूको खोजी गरेका थिए । दुर्घटनामा ज्यान गुमाएका धेरै मानिसहरूको अझै पहिचान हुन बाँकी छ ।
बुधबार बिहान म्याड्रिडबाट सेभिलतर्फ गइरहेको एउटा रेल लिकमा रोकिएर बसेको अर्को रेलसँग ठोक्किएपछि घटेको यो दुर्घटनाको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका बीबीसीमा उल्लेख छ ।
स्पेनको गृह मन्त्रालयका अनुसार उद्धार कार्यमा सहयोग पुर्याउन सयौँ सुरक्षाकर्मी र उद्धारकर्ताहरू परिचालन गरिएको छ । पीडितहरूको खोजी गर्न र भग्नावशेष हटाउन ड्रोन तथा हेलिकप्टरहरूको प्रयोग भइरहेको छ ।
स्पेनका यातायात मन्त्री ओस्कर पुएन्तेका अनुसार निजी रेल अपरेटर ‘इरियो’द्वारा सञ्चालित र १४७ जना यात्री सवार रोकिएको उक्त रेल कम्प्युटर प्रणालीमा आएको खराबीका कारण लिकमै ठप्प भएको थियो ।
उनले प्रणालीमा खराबी आउँदा म्याड्रिडमा रहेको २४ घण्टे नियन्त्रण कक्षले जिम्मेवारी लिने गरेको तर त्यसले कुनै गति सीमा बिना नै रेलहरूलाई पुनः अघि बढ्न निर्देशन दिने अस्पष्ट निर्णय गरेको बताए ।
म्याड्रिडका रेल नियन्त्रकहरू र रेल चालकहरूबीचको अडियो रेकर्डिङले अगाडिको रेल रोकिएको अवस्थामा पनि अर्को उच्च गति (हाई–स्पीड) को रेललाई अघि बढ्ने अनुमति दिइएको देखाउँछ ।
इरियोका अनुसार उसको रेललाई स्पेनको सरकारी रेल कम्पनी रेनफेद्वारा सञ्चालित र ३९७ जना यात्री बोकेको अर्को रेलले पछाडिबाट टक्कर दिएको थियो । दुर्घटनाको ठूलो प्रभावका कारण धेरै डिब्बाहरू लिकबाट खसेर भीरतिर गुल्टिएका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार मानिसहरू रोइरहेका र रगतपछ्यौटा भएका थिए, यात्रुहरू आफ्ना सिटमै चेपिएका थिए र डिब्बाहरूमा धुवाँ भरिएको थियो; जसमध्ये एउटा डिब्बामा आगोसमेत लागेको थियो ।
सान्चेजले स्पेनमा यसै वर्ष दुई ठूला रेल दुर्घटना हुनु अस्वीकार्य भएको बताएका छन् । यसअघि जनवरीमा कोर्डोबा नजिकै भएको उच्च गतिको रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना पनि बुधबारको दुर्घटना भएकै लिकमा तर अझै दक्षिणतर्फ भएको थियो ।
घटनापछि अधिकांश राजनीतिक दलहरूले आगामी निर्वाचनका लागि तय गरिएका प्रचारप्रसार कार्यक्रमहरू स्थगित गरेका छन् ।