काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्व २०८३ को सार्वजनिक बिदाको समयमा हुनसक्ने साइबर फ्रड तथा स्क्याम (विद्युतीय ठगी) नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै ‘क’, ’ख’ र ’ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई बिदाको समयमा हुनसक्ने विद्युतीय आर्थिक ठगीका घटना रोक्न र अनुसन्धान प्रक्रियालाई सहज बनाउन निर्देशन दिएको हो ।
चाडपर्वको बिदाको अवधिमा विद्युतीय माध्यमबाट हुनसक्ने आर्थिक ठगीका घटनाको कारोबार विवरण समयमै उपलब्ध गराउन तथा शंकास्पद खाता र कारोबारको पहिचान गरी तत्काल रोक्का गर्न राष्ट्र बैंकले बैंकहरूलाई भनेको छ । यसका लागि प्रत्येक बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा एक जिम्मेवार सम्पर्क व्यक्ति तोक्नुपर्नेछ ।
उक्त सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर तथा चौबीसै घण्टा अनुगमन हुने इमेल ठेगानामा सम्पूर्ण विवरण नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगाना उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
चाडपर्वको लामो बिदामा बैंकहरू बन्द रहने र अनलाइन बैंकिङ तथा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग बढ्ने र सोही मौकामा हुनसक्ने ठगीको जोखिमलाई मध्यनजर गर्दै प्रहरी अनुसन्धानलाई सहज र द्रुत बनाउन यो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ ।
