काठमाडौं, २८ असोज । यस वर्षको मनसुनी प्रणाली नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज विशेष ‘मनसुन बहिर्गमन बुलेटिन–२’ जारी गर्दै मनसुन नेपालबाट पुरै बाहिरिएको जानकारी गराएको हो ।
यस वर्ष असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिन सुरु गरेको थियो ।
सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरु भई २ अक्टोबरमा बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ ।
यस वर्ष नेपालबाट मनसुन बाहिरिने सरदर मितिको अवधिमा सरदर वर्षा भएको छ । यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ । तराई र पहाडको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको छ ।
मनसुन पूर्ण रूपमा बाहिरिए तापनि स्थानिय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई जल तथा मौसम विज्ञान विभागले समय–समयमा जारी गर्ने पछिल्लो मौसमी सूचना तथा पूर्वअनुमानको जानकारी लिइरहन अनुरोध गरिएको छ ।