मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ ‘होल्ड’

अनलाइनसमय |
२८ असोज २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ ‘होल्ड’

काठमाडौं, २८ असोज । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया रोकिएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईं र राजिव खत्रीले उनीमाथि विभिन्न प्रश्न उठाएपछि सुनुवाइ होल्ड गरिएको हो ।

सुनुवाइका क्रममा खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतासम्बन्धी प्रश्न उठेका थिए । समितिले थप अध्ययन तथा प्रमाण सङ्कलन गरेर अघि बढ्ने निर्णय गरेको छ भने यस विषयमा छानबिन गर्न उपसमिति गठन गर्ने तयारीसमेत गरेको छ ।

बैठकमा खरेलले मलेसियालाई केन्द्र बनाएर थप चार देशको गैरआवासीय कूटनीतिक जिम्मेवारी निर्वाह गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या तत्काल सम्बोधन गर्ने संयन्त्र निर्माण गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।

आफूमाथि उठेका आरोपको जवाफ दिँदै प्रस्तावित राजदूत खरेलले ती सबै आरोप तथ्यहीन र भ्रामक रहेको दाबी गरे । उनले जग्गा कारोबार, आर्थिक लेनदेन वा अनुदान मिलाइदिने प्रलोभन नदेखाएको जिकिर गर्दै संस्थागत आर्थिक कारोबारमा आफ्नो एकल निर्णय नहुने बताए ।

खरेलमाथि म्यानपावर व्यवसायीसँग आर्थिक सम्बन्ध राखेको, विभिन्न संस्थामा आर्थिक अनियमितता गरेको तथा जग्गा कारोबारसम्बन्धी विवादमा संलग्न रहेको लगायतका आरोप लागेका छन् । समितिले यी विषयमा थप अध्ययन गरेपछि उनको सुनुवाइ प्रक्रियाबारे निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस