बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने राष्ट्र बैंकको प्रक्षेपण

अनलाइनसमय |
२७ असोज २०८३
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं, २७ असोज । आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान गरिएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा सार्वजनिक ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन (वार्षिक प्रतिवेदन २०८२/८३)’ अनुसार समीक्षा वर्षमा राष्ट्रिय अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने प्रक्षेपण हुँदा बागमती प्रदेशको वृद्धिदर भने राष्ट्रिय औसतभन्दा उच्च रहने देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा यस प्रदेशको आर्थिक वृद्धिदर ५.२९ प्रतिशत रहेको थियो ।

आव २०८२/८३ बागमतीको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ११.२३ प्रतिशत, उद्योगको १२.२४ प्रतिशत र सेवा क्षेत्रको योगदान ७६.५३ प्रतिशत रहने राष्ट्र बैंकको अनुमान छ ।

समीक्षा वर्षमा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा बागमती प्रदेशको अंश क्रमशः १७.१४ प्रतिशत, ३१.७४ प्रतिशत र ४५.४५ प्रतिशत रहने अनुमान छ ।

त्यस्तै, बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमध्ये थोक तथा खुद्रा व्यापारको अंश सबैभन्दा बढी (२१.७ प्रतिशत) रहेको छ । घरजग्गा कारोबारको अंश १४.६९ प्रतिशत, वित्तीय तथा बीमाको अंश ११.६८ प्रतिशत, कृषि, वन तथा मत्स्यपालनको अंश ११.४० प्रतिशत, यातायात तथा भण्डारणको अंश ९.३१ प्रतिशत तथा उत्पादनमूलक उद्योगको अंश ५.५७ प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार प्रचलित मूल्यमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो मुलुकको कुल गार्हस्थ्य उत्पादन (६६ खर्ब रुपैयाँ) को ३६.७१ प्रतिशत हिस्सा हो, जुन सातवटै प्रदेशमध्ये सबैभन्दा उच्च हो । कुल गार्हस्थ्य उत्पादनमा बागमतीपछि कोशी प्रदेशको १५.८० प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२० प्रतिशत हिस्सा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस