काठमाडौं, २२ असोज । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले चालू आर्थिक वर्ष २०८३÷८४ का लागि १ अर्ब ७० करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको वार्षिक बजेट ल्याएको छ ।
यस वर्षको बजेटको आकार गत वर्षको तुलनामा ११ करोडले बढी छ । गत आवमा १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको बोर्डले संशोधित अनुमानमा १ अर्ब २० करोड ८९ लाख (करिब ७६ प्रतिशत) मात्र खर्च गरेको थियो ।
यस वर्ष बोर्डले पर्यटन सेवा शूल्कबाट सबैभन्दा धेरै १ अर्ब १७ करोड ७८ लाख रुपैयाँ (कुल बजेटको ६९ प्रतिशत) आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै, बोर्डको सञ्चित कोषबाट ३२ करोड ८० लाख रुपैयाँ (१९ प्रतिशत), पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) का विभिन्न खाताहरूबाट करिब १२ करोड रुपैयाँ, आन्तरिक विविध आयबाट ३ करोड ४३ लाख रुपैयाँ तथा गत वर्षको भुक्तानी दायित्वका लागि सञ्चित बचतबाट ३ करोड ७२ लाख रुपैयाँ बेहोरिने बोर्डको वार्षिक विवरणमा उल्लेख छ ।
बोर्डको खर्चमध्ये कर्मचारी खर्च १५ करोड ६३ लाख र कार्यालय खर्च १० करोड २१ लाख हुने अनुमान छ ।
बोर्डले सन् २०२७ लाई आरोग्य वर्षका रूपमा मनाउन पूर्वतयारी तथा प्रवद्र्धनका लागि मात्रै १८ करोड रुपैयाँ विनियोजन गरेको छ । यसअन्तर्गत अन्तर्राष्ट्रिय स्तरमा वेलनेस पर्यटनको प्रवद्र्धन, अन्तर्राष्ट्रिय वेलनेस सम्मेलन, परम्परागत तथा रैथाने उपचार पद्धतिको बजारीकरण जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
यसैगरी, सूचना प्रविधिको प्रयोग बढाउन बोर्डले ’एनटीबी मास्टर एप (सुपर एप)’ विकास तथा डिजिटल प्रवद्र्धनका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय स्तरका ब्लगर, भ्लगर तथा सेलिब्रेटीहरूलाई नेपालमा ल्याएर अन्तरक्रिया गराउन ४ करोड रुपैयाँको लागतमा ’इन्फ्लुएन्सर्स समिट’ आयोजना गरिने भएको छ । यसबाहेक फोटो, भिडियो तथा डिजिटल कन्टेन्ट बैंक स्थापनाका लागि छुट्टै ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।