काठमाडौं, २२ असोज । यस वर्षको शरद ऋतुमा शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ वटा टोलीका ७८८ जना आरोहीले अनुमति लिएका हुन्, जसमध्ये ५८२ जना पुरुष र २०६ जना महिला रहेका छन् ।
यस यामको पर्वतारोहण अनुमतिबाट सरकारले २४ करोड ७२ लाख ७ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।
यस ऋतुमा आठ हजार मिटरभन्दा अग्लो मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आरोहीको सबैभन्दा बढी आकर्षण देखिएको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । यस हिमालबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार राजस्व उठेको छ ।
त्यस्तै, धवलागिरि पहिलो (८,१६७ मी.) आरोहणका लागि ५ टोलीका ३६ जनाले अनुमति लिएका छन्, यस हिमाल आरोहणबाट ८२ लाख ४२ हजार रुपैयाँ रोयल्टी उठेको छ ।
मकालु पहिलो (८,४६३ मी.) का लागि ३ जना, पुमोरी (७,१६१ मी.) का लागि ६ जना, हिमलुङ हिमाल (७,१२६ मी.) का लागि ३ टोलीका ३४ जना अमादब्लम (६,८१४ मी.) का लागि २ टोलीका १९ जना, पुथा हिउँचुली (७,२४६ मी.) का लागि २ टोलीका २० जना अन्नपूर्ण चौथोका लागि ३ टोलीका १९ जना र बरुणत्सेका लागि २ टोलीका १९ जनाले अनुमति पाएका छन् ।
यसैगरी हिमाल आरोहणका लागि अनुमति लिने विदेशी नागरिकमा चीनका आरोहीको संख्या सबैभन्दा बढी छ । चीनबाट ११८ जना आरोहीले अनुमति पाएका छन् । यसैगरी रसियाका ६५ जना, फ्रान्सका ६० जना, जर्मनीका ५७ जना, अमेरिकाका ५२ जना र बेलायतका ४५ जनाले विभिन्न हिमाल आरोहण गर्न अनुमति अनुमति लिएका छन् ।