काठमाडौं, २९ भदौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रणका लागि सरकारले छुट्टै नयाँ कोष स्थापना नगर्ने बताएकी छन् ।
सोमबार विधायन व्यवस्थापन समितिमा ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा मन्त्री चौधरीले नयाँ कोष थप्नुको सट्टा विद्यमान कोषहरूलाई एकीकृत गर्ने सरकारको नीति रहेको बताइन् ।
बैठकमा सांसदहरूले सङ्क्रामक पशु रोगका कारण प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन छुट्टै कोष आवश्यक रहेको बताएका थिए । जवाफमा मन्त्री चौधरीले विगतमा विभिन्न प्रयोजनका लागि स्थापना गरिएका कोष प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र कतिपय अवस्थामा दुरुपयोगसमेत भएको उल्लेख गरिन् ।
उनका अनुसार विधेयकको प्रारम्भिक मस्यौदामै सङ्क्रामक पशु रोग नियन्त्रणका लागि छुट्टै कोषको व्यवस्था गरिएको थियो । तर अर्थ मन्त्रालयबाट राय लिने क्रममा प्रस्तावित व्यवस्था अन्य प्रचलित कानुनी प्रावधानसँग बाझिने देखिएपछि कोषसम्बन्धी व्यवस्था पुनर्विचार गर्नुपर्ने अवस्था आएको हो ।
मन्त्री चौधरीले राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरोकारवालाको सहभागितामा कोष स्थापना गर्ने विकल्प भने खुला रहेको बताइन् ।