काठमाडौं, ३१ असार । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार असार २६ गतेसम्म ४९.८१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मुलुकभर धान रोपाइँ हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६ लाख ८२ हजार ३ सय ७४ हेक्टरमा रोपाइँ सकिएको हो, जुन गत वर्षको तुलनामा ९ दशमलव ४७ प्रतिशत बिन्दुले कम हो । गत वर्ष असार २९ गतेसम्ममा देशैभर ५९.२८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको थियो ।
विभागकाअनुसार यस वर्ष सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको छ ।
सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ५४ हजार ९५० हेक्टर धान फल्ने क्षेत्रफलमध्ये ८७.७९ प्रतिशत अर्थात् १ लाख ३६ हजार ३२ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । गत वर्ष यस प्रदेशमा यसै अवधिमा ९३.१० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।
गण्डकी प्रदेशमा ६५.९४ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । यहाँ कुल ९३ हजार ६०६ हेक्टर क्षेत्रफलमध्ये ६१ हजार ७२६ हेक्टरमा रोपाइँ भएको छ ।
त्यस्तै, कर्णाली प्रदेशमा हालसम्म ६०.२१ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँको कुल ४३ हजार २९० हेक्टर क्षेत्रफलमध्ये २६ हजार ६७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ । कुल ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७९ हजार ६ सय ३०.७ हेक्टरमा रोपाइँ सकिएको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, बाग्मती प्रदेशमा कुल १ लाख १४ हजार ५ सय २४.४ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ६५ हजार ४ सय ४६ हेक्टरमा अर्थात् ५७.१५ प्रतिशत रोपाइँ भएको छ ।
धान उत्पादनको मुख्य भण्डार मानिने मधेश प्रदेशमा यस वर्ष रोपाइँको गति निकै सुस्त छ । यहाँ कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये ३२.७६ प्रतिशत अर्थात् १ लाख २६ हजार ४ सय ३९.१२ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।
यस वर्ष सबैभन्दा कम धान रोपाइँ कोशी प्रदेशमा भएको छ । कोशीमा कुल २ लाख ७६ हजार ३ सय ८६.७३ हेक्टर धान खेती हुने क्षेत्रमध्ये हालसम्म ३१.४९ प्रतिशत अर्थात् ८७ हजार ३३.१५ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
