काठमाडौं, १७ कात्तिक । नजिकिँदै गरेको दीपावली (तिहार) पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलका माला तथा प्लास्टिकका सजावट सामग्री बिक्री वितरण गर्न पूर्ण रूपमा रोक लगाएको छ ।
महानगरपालिकाले स्वदेशी किसानहरूले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन सर्वसाधारण, व्यापारी तथा व्यवसायीहरूसँग हार्दिक अनुरोध गरेको छ ।
महानगरपालिकाद्वारा सूचना जारी गर्दै सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू नगर प्रहरीले जफत गर्ने चेतावनी समेत दिएको छ ।
यसैगरी, किसानहरूले उत्पादन गरेका स्वदेशी फूल तथा मालाको सहज बिक्री वितरणका लागि महानगर प्रहरी बलले सरोकारवाला निकायहरूसँगको समन्वयमा नगरका विभिन्न ३० भन्दा बढी खुला स्थान, सपिङ मल तथा चोकहरू तोकेको छ ।
महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ ।
चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएलटावर अगाडि पनि फूल बेच्न पाइनेछ । कमलादीस्थित आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्म चक्र पार्क, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर र माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि बिक्रीस्थल तोकिएको छ ।
यसैगरी, कालिमाटीको कालिमाटी ब्याङ्क्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालय अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पलकारखाना र बालुवाटारको बिग मार्टमा पनि फूल बेच्न सकिनेछ ।
साथै, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि फूल बिक्री स्थलका रूपमा तोकिएको महानगरले जनाएको छ ।
