देशभर ८५.७२ प्रतिशत धान रोपाइँ

अनलाइनसमय |
१२ साउन २०८३
देशभर ८५.७२ प्रतिशत धान रोपाइँ

काठमाडौं, १२ साउन । हालसम्म देशभर कुल ८५ दमलव ७२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागको तथ्याङ्क अनुसार नेपालभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ दशमलव १३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ११ लाख ७४ हजार ३९२ दशमलव ५८ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ७८ दशमलव ८४ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रोपाइँ भएको छ । सुदूरपश्चिममा कुल १ लाख ५४ हजार ९५० हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ५१ हजार ७४२ हेक्टर अर्थात् ९७ दशमलव ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस प्रदेशमा ९८.९४ प्रतिशत रोपाइँ भएको थियो ।

त्यस्तै, लुम्बिनी प्रदेशमा २ लाख ६८ हजार १९७ हेक्टर अर्थात् ८८ दशमलव ९९ प्रतिशत धान रोपाइँ भएको छ । यो प्रदेशमा कुल ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।

कर्णाली प्रदेशमा ८८ दशमलव २२ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । यस प्रदेशमा ४३ हजार २९० हेक्टर क्षेत्रमध्ये ३८ हजार १८९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी बागमती प्रदेशमा १ लाख १४ हजार ५२४ दशमलव ४० हेक्टरमध्ये ९९ हजार ७४४ दशमलव ८८ हेक्टर अर्थात् ८७ दशमलव ०९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ ।

कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ दशमलव ७३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये २ लाख ४० हजार ३७७ दशमलव ०५ हेक्टर अर्थात् ८६.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टर क्षेत्रफलमध्ये ७५ हजार ५६२ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । त्यस्तै मधेश प्रदेशमा कुल ३ लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ३ लाख ५८० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस