बैंकिङ कसुरका उजुरी बढे, आर्थिक शिथिलता कि वित्तीय अनुशासनको कमी ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२९ साउन २०८३
बैंकिङ कसुरका उजुरी बढे, आर्थिक शिथिलता कि वित्तीय अनुशासनको कमी ? (भिडियो रिपोर्ट)

काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो समय आर्थिक अपराध र त्यसमा विशेषगरी बैंकिङ कसुर ठूलो चुनौतीका रूपमा देखिन थालेको छ । प्रहरी प्रधान कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा देशभर सबैभन्दा बढी दर्ता भएको अपराध बैंकिङ कसुरसम्बन्धी रहेको छ । प्रहरीका अनुसार एक वर्षमै बैंकिङ कसुरका १२ हजार ९५० वटा मुद्दा दर्ता भएको छ । बैंकिङ कसुरमा पनि चेक अनादरसम्बन्धी उजुरी सबैभन्दा धेरै दर्ता हुने गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी सबैभन्दा धेरै उजुरी काठमाडौं उपत्यकाका रहेका छन् । गत आर्थिक वर्षमा यससम्बन्धी कुल उजुरीमध्ये ४६ दशमलव ५० प्रतिशत मुद्दा काठमाडौं उपत्यकामा मात्र दर्ता भएका छन् । बैंकिङ कसुर बढ्नुमा अर्थतन्त्रको शिथिलता, वित्तीय अनुशासनको कमीलगायत विविध कारण जिम्मेवार छन् ।

अहिले अधिकांश आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने भएकाले त्यससँग सम्बन्धित विवाद र अपराध पनि तीव्र रूपमा बढिरहेका छन् । यद्यपि बैंकिङ कसुर सम्बन्धी सबै उजुरी कानूनी प्रक्रियामै जान्छन् भन्ने हुँदैन । दुई पक्षबीचको सहमतिमै पनि धेरै उजुरी समाधान हुने गरेका छन् ।

बैंकिङ कसुर तथा कालोसूची बढ्नु अर्थतन्त्रका लागि पनि गम्भीर संकेत हो । यसले दुई पक्षबीचको वित्तीय कारोबारमा विश्वास कमजोर बनाउनुका साथै सामाजिक तथा समग्र आर्थिक प्रणालीमै नकारात्मक प्रभाव पार्न सक्छ ।

नेपालमा चेक बाउन्सलगायतका कसुरमा कैद र जरिवानासम्मको व्यवस्था छ । तर पनि यस्ता मुद्दा बढ्नुले विद्यमान कानूनी व्यवस्था पर्याप्त नभएको देखाउँछ । त्यसैले कानूनी व्यवस्थामा कडाइसँगै वित्तीय अनुशासन मजबुत बनाउन उत्तिकै आवश्यक छ ।

गत आर्थिक वर्षमा काठमाडौं उपत्यकाबाहेक प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा बैंकिङ कसुरका १ हजार ७५७ ओटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी लुम्बिनीमा १ हजार २१८, कोशीमा १ हजार १५७, बागमतीमा १ हजार २१, गण्डकीमा ९९४, सुदूरपश्चिममा ४२६ र कर्णालीमा सबैभन्दा कम ३५५ मुद्दा दर्ता भएका छन् ।
यस्तो छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस