बीमा दाबीको अवस्था थाहा पाउन अब डिजिटल ट्रयाकिङ सिस्टम (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१६ साउन २०८३
बीमा दाबीको अवस्था थाहा पाउन अब डिजिटल ट्रयाकिङ सिस्टम (भिडियो रिपोर्ट)

काठमाडौं, १६ साउन । बीमा गरेपछि दाबी भुक्तानी पाउने समयमा बीमितहरूले झेल्नुपर्ने झन्झट र अनुचित दबाबलाई अन्त्य गर्न नियामक निकाय नेपाल बीमा प्राधिकरणले कडा कदम चालेको छ । प्राधिकरणले बीमा दाबी प्रक्रियालाई पारदर्शी बनाउन तीन महिनाभित्र ‘डिजिटल ट्राकिङ प्रणाली’ लागू गर्न निर्देशन दिएको छ । यो प्रणालीमार्फत बीमितले आफ्नो दाबी कुन चरणमा पुगेको छ भन्ने कुराको प्रत्यक्ष जानकारी पाउनेछन् ।

बीमा दाबी भुक्तानीमा ढिलासुस्ती भएको र झन्झट भोग्नु परेको गुनासो सर्वसाधारणबाट निरन्तर आइरहेका बेला नेपाल बीमा प्राधिकरणले नयाँ प्रविधि र कडा निर्देशनको सहारा लिएको हो । प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई आगामी तीन महिनाभित्र दाबी प्रक्रियाको डिजिटल ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा लागू गर्न परिपत्र जारी गरेको छ । प्राधिकरणको यो निर्देशन सकारात्मक रहेको बताइएको छ ।

यो प्रणाली लागू भएसँगै बीमितले दाबीको निवेदन दिएदेखि भुक्तानी नपाउन्जेल प्रत्येक चरणको अवस्था ‘रियल टाइम’मै ट्र¥याक गर्न सक्नेछन् । तर तोकिएको तीन महिनाभित्रै यो प्रविधि पूर्ण रूपमा सञ्चालनमा आउला भन्ने शंका पनि छ । यद्यपि यो ठूलो चुनौती नरहेको र निर्धारित समयसीमाभित्रै लागू गर्न सकिने दाबी गरिएको छ ।

डिजिटल ट्राकिङका साथै प्राधिकरणले जीवन बीमा कम्पनीहरूको मनोमानी नियन्त्रण गर्न अर्को परिपत्र पनि जारी गरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका हकवालालाई दाबी भुक्तानी दिने समयमा बीमकले अर्को बीमा गर्न अनुचित दबाब दिने गरेको गुनासो बढेपछि प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । साथै यस्तो गरेको पाइएमा बीमा ऐनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

बीमा व्यवसायमा दाबी भुक्तानीको विषय सधैँजसो पेचिलो बन्ने गरेको छ । यस प्रक्रियालाई सहज र छिटोछरितो बनाउन बीमा प्राधिकरणले आवश्यक नीति–निर्देशन जारी गर्नुका साथै बीमकहरूसँग प्रत्यक्ष छलफल र अन्य नियामकीय पहलहरू गर्दै आएको छ ।

त्यसो त दाबी भुक्तानीका सम्बन्धमा बुझाइको कमी र गलत भाष्य पनि बन्ने गरेको छ । किनकि यसका पनि विभिन्न शर्त, सीमा र प्रक्रिया हुन्छन् । यस्तै सबै दाबी भुक्तानीका लागि योग्य पनि हुँदैनन् । अतः बीमा सचेतनालाई आम रूपमा बढाउनुपर्ने आवश्यकता पनि देखिन्छ ।

बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस