छिमेक लघुवित्तको साथले व्यावसायिक केराखेतीबाट चिनिएकी कल्पना

अनलाइनसमय |
१५ साउन २०८३
छिमेक लघुवित्तको साथले व्यावसायिक केराखेतीबाट चिनिएकी कल्पना

काठमाडौं, १५ साउन । १४ वर्षको कलिलो उमेरमै विवाह । सामान्य आर्थिक अवस्था । छोराको पढाइका लागि घडेरी नै बेच्नुपरेको बाध्यता र ऋणको चाप । तर समस्या र कठिनाइका बीच पनि उनले कहिल्यै हार मानिनन् । बरु चुनौतीलाई अवसरमा बदल्ने साहस गरिन् । छिमेक लघुवित्तबाट लिएको कर्जालाई केराखेतीमा लगानी अघि बढिन् । त्यसैले त आज उनी आफ्नो गाउँठाउँमा सफल किसानका रूपमा चिनिएकी छन् । उनी हुन् कल्पना रानामगर ।

रौतहटको चन्द्रपुर–३, गैंडाटारकी कल्पनाको जीवन सहज थिएन । विद्यालयका कक्षाकोठामा भविष्यको सपना देख्ने उमेरमा उनको दैनिकी घरभान्सा र खेतबारीमै सीमित बन्यो । परम्परागत खेतीपातीबाट जसोतसो घरखर्च चल्थ्यो । त्यसभन्दा बढी केही थिएन ।

समयसँगै परिवारको आर्थिक आवश्यकता बढ्दै गए । छोराले एमबीबीएसमा नाम निकाले । तर अध्ययनका लागि चाहिने ठूलो खर्च जुटाउन सजिलो थिएन । ऋण खोजियो, आफन्त र चिनेजानेकासँग सरसापट मागियो । तर आवश्यकता जति ठूलो थियो, सहयोग त्यति थिएन । त्यसपछि कल्पना र उनका श्रीमान् बलरामले चन्द्रपुरमा रहेको आफ्नो घडेरी बेच्ने निर्णयमा पुगे ।

जग्गा बेचेपछि पनि रानामगर परिवारको आर्थिक कठिनाइ उस्तै थियो । यसै क्रममा कल्पना छिमेक लघुवित्त वित्तीय संस्थासँग जोडिइन् । बहिनी संस्थामा कार्यरत भएकाले संस्थाको काम र उद्देश्यलाई उनले नजिकबाट बुझ्न पाइन् । संस्थाको सदस्य बनेपछि उनले अझ थाहा पाइन्– कर्जा लिएर उद्यममा लगाउन सके त्यसले आर्थिक अवस्था उकासिन सक्छ ।

यसैबीच, एकजना आफन्तले उनलाई केराखेती गर्न सुझाव दिए । कल्पना र बलरामले छिमेक लघुवित्तको चन्द्रपुर शाखाबाट केही ऋण लिएर केराखेती गर्ने योजना बनाए । समयमै साँवा–ब्याज तिर्दै जाँदा उनले संस्थाबाट कर्जा पनि बढाउँदै लगिन् ।

रानामगर दम्पतीले शुरूमा १८ कट्ठा जग्गा भाडामा लिएर केरा रोपे, बोटहरू हुर्किए, फल लाग्न थाले । केराको उत्पादन तथा गुणस्तर राम्रो हुन थाल्यो । विक्रीका लागि शुरूमा बजारको समस्या भए पनि निराश भएनन् । विस्तारै बजारमा माग बढ्न थाल्यो । अहिले सिजनमा ठेकेदारहरू बगानमै पुगेर केरा लैजान्छन् । अफसिजनमा समेत बजारको समस्या छैन । त्यसमाथि अहिले सरकारको नीतिले समेत आफ्नो उत्पादनले राम्रो मूल्य पाउँदा यो दम्पती सन्तुष्ट छन् ।

भनिन्छ, संघर्षको परिणाम तुरुन्त देखिँदैन । अथक मेहनत र निरन्तरता भए एक दिन सुखद परिणाम देखिन्छ । केराखेतीबारे पहिले नकारात्मक टिप्पणी गर्नेहरूले समेत यस दम्पतीको कामलाई पछ्याएका छन् ।

छिमेक लघुवित्तबाट शुरूमा एक हजारबाट शुरू भएको रानामगर दम्पतीको कर्जा अहिले सात लाख पुगेको छ । यो खेतीबाट वार्षिक करीब २० लाखको कारोबार हुन्छ । प्राप्त आम्दानीले समयमै कर्जाको किस्ता तिर्न, घरखर्च धान्न र छोरालाई पढाउन पुगेको छ । बाँकी बचतलाई केराखेतीमै लगाउँछन् । केरा बगानमा सिजन अनुसार दिनमै १५ जनासम्मले काम पाएका छन् । केराखेतीले यो परिवारको आर्थिक अवस्था मात्र होइन, सामाजिक पहिचान समेत बदलिदिएको छ ।

एक समय ऋण पाउन मुश्किल पर्ने यो परिवार अहिले आवश्यक पर्दा अरूलाई सापटी दिन सक्ने अवस्थामा पुगेको छ । केराखेतीकै कारण परिवारका न्यूनतम आवश्यकता पुरा गर्न सक्ने भएका छन् ।

कल्पना र बलराम आफूहरू यहाँसम्म आइपुग्नुको प्रमुख देन छिमेक लघुवित्तको रहेको सवर्ग बताउँछन् । यस्ता संस्थाबाट कर्जा लिएपछि समयै चुक्ता गर्नुपर्ने बलरामको बुझाइ छ । आगामी दिनमा केराखेतीलाई थप विस्तार गर्ने यो दम्पतीको योजना छ ।

२०८३ जेठसम्म्ममा छिमेक लघुवित्त वित्तीय संस्था, चन्द्रपुर शाखामा ४ हजार ५० जना सक्रिय सदस्य छन्, जसमध्ये २ हजार ४० जना ऋणी सदस्य छन् । सो अवधिमा यस शाखाबाट ५७ करोड ३२ लाख कर्जा परिचालन भएको छ । कर्जा लगानीका प्रमुख क्षेत्र कृषि, पशुपालन, सेवामूलक व्यवसाय रहेका छन् ।

छिमेक लघुवित्तको चन्द्रपुर शाखाले आफ्ना सदस्यलाई कर्जाका साथै आवश्यकता अनुसार विभिन्न शीप विकास तालीमलगायत प्राविधिक सहायता समेत दिँदै आएको छ । सदस्यहरूले ऋण लिएपछि त्यसको सदुपयोगिताबारे संस्थाले नियमित अनुगमन, निरीक्षण तथा सुधारात्मक काम गर्दै आएको छ ।

बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस