१०.७१ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

अनलाइनसमय |
१ साउन २०८३
१०.७१ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, १ साउन । आर्थिक वर्ष (आव) २०८१/८२ को तुलनामा गत आवको यसै अवधिमा आएको वैदेशिक लगानी प्रतिबद्धता १० दशमलव ७१ प्रतिशतले घटेको छ ।

उद्योग विभागका अनुसार गत आव २०८२/८३ को अन्तिमसम्ममा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट) र अप्रुभल रूटमार्फत ५८ अर्ब १० लाख ८५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । अघिल्लो आवमा यस्तो प्रतिबद्धता ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ आएको थियो ।

असारमसान्तसम्ममा अप्रुभल रूटबाट सबैभन्दा धरै विदेशी लगानी प्रतिबद्धता आएको छ । एक वर्षमा अप्रुभल रूटबाट २१९ उद्योगका लागि ४८ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अटोमेटिक रूटबाट ८९७ उद्योगका लागि ९ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

एक वर्ष अवधिमा १ हजार ९२ वटा साना उद्योग, १२ वटा मझौला र १२ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा २८ हजार ४२३ जनाले रोजगारी पाउनेछन् ।

आईटी क्षेत्रमा झण्डै ३ खर्ब लगानी प्रतिबद्धता
परियोजनाको हिसाबले सबैभन्दा धेरै सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार गत आवमा आईटी क्षेत्रका ७२७ उद्योगमा २ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । अघिल्लो आवमा यस क्षेत्रमा ३८२ उद्योगका लागि १ अर्ब ८४ करोड ८६ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।

लगानी रकमको हिसाबले भने सबैभन्दा धेरै कृषि क्षेत्रमा छ । गत आवको असारमसान्तसम्ममा यस क्षेत्रमा १८ उद्योगका लागि २३ अर्ब १८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै पर्यटन क्षेत्रमा १३ अर्ब ९९ करोड ७४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता भित्रिए पर्यटन क्षेत्रका २२७ उद्योग स्थापना हुने छन् । गत आवमा उर्जामुलक क्षेत्रमा ७ अर्ब १६ करोड ८६ लाख, सेवामुलक क्षेत्रमा ४ अर्ब ९१ करोड ४० लाख, उत्पादनमुलक क्षेत्रमा ३ अर्ब ९१ करोड र खनिजतर्फ १८ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस