काठमाडौं महानगरमा २ हजार ७७९ महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा ९० जनामा एचपीभी डीएनए रिपोर्ट पोजेटिभ देखिएको छ ।
काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ देखि २०८३ वैशाख २१ गतेसम्म महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गरेको थियो ।
परीक्षणको प्रयोगशाला रिपोर्टमा १२ जनालाई एचपीभी १६, १३ जनालाई एचपीभी १८ र ६५ जनालाई १६ र १८ वाहेक अन्य एचपीभी पोजेटिभ देखिएको महानगरले जनाएको छ ।
एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को संक्रमणले क्यान्सरको जोखिम हुन्छ । यसमध्ये नेपालमा एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण हुनेछ गरेको थियो । यस वर्ष महानगरपालिकाले एचपीभी १६ र १८ वाहेक अन्य प्रकारका एचपीभीको पनि परीक्षण गराएको हो ।
एचपीभी डीएनए पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट संक्रमण भएर क्यान्सर हुन सक्ने जोखिम हो ।
क्यान्सर परीक्षण गरिएका ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिएका थिए । जसमध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुगेका थिए । कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार जाँच गर्न पगेकामध्ये २ हजार ७७९ जनाको एचपीभीसँगै २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । उनीहरुमध्ये ४११ जनाको मेमोग्राम र ४९४ जनाको स्तनको भिडियो एक्सरे गरिएको महानगरले जनाएको छ ।
उनीहरुमध्ये ४ जनाको स्तनको वायोप्सी गर्नु पर्ने देखियो । उनीहरुमध्ये १ जना सम्पर्कमा नै आउनु भएन । २ जनाको रिपोर्ट पोजेटिभ देखिएको र उनीहरु अहिले उपचाररत छन् । १ जनाको स्तनमा मासु पलाएको पाइएको छ ।
११ जनाको पाठेघरको मुखमा सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया देखिएको छ । यो क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । ११ जनामध्ये ४ जनामा हाइ ग्रेडको समस्या र ७ जनामा लो ग्रेडको समस्या रहेको छ ।
२ जनाको पाठेघरको मुखमा मासु पलाएको मासु काटेर फाल्ने (सर्भाइकल पोलिपेक्टोमी) गरिएको छ । परीक्षणका क्रममा आङ् खसेका, पाठेघरको मुखमा संक्रमण (पीआइडी) देखिएको महिलाहरुको उपचार गरिएको महानगरले जनाएको छ ।