काठमाडौं, १४ भदौ । अमेरिकी प्रविधि कम्पनी स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले नेपालका बाढी प्रभावित क्षेत्रमा निःशुल्क सञ्चार सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
कम्पनीले नेपालमा आएको विनाशकारी बाढी तथा नेपाल–तिब्बत सीमा क्षेत्रमा भएको विपत्तिप्रति दुःख व्यक्त गर्दै विपद् प्रभावित नागरिकको सञ्चार सहज बनाउन आवश्यक उपकरण उपलब्ध गराउन तयार रहेको जनाएको हो ।
स्टारलिंकले सामाजिक सञ्जालमार्फत नेपाल सरकार तथा मानवीय सहायता क्षेत्रमा काम गरिरहेका संस्थासँग सहकार्य गरी आवश्यक स्टारलिंक किट पठाउने र निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव अघि सारेको जनाएको छ ।
कम्पनीले नेपाल सरकारबाट अनुमति प्राप्त हुनासाथ आवश्यक उपकरण पठाएर सेवा सञ्चालन गर्न सकिने जनाएको छ ।
बाढी र पहिरोका कारण सडक, पुल तथा मोबाइल सञ्चार पूर्वाधारमा क्षति पुगेको अवस्थामा उद्धार तथा राहत कार्यमा सञ्चार सेवा प्रभावकारी बनाउन सकिने स्टारलिंकको भनाइ छ । स्याटेलाइट इन्टरनेटमार्फत उद्धार टोलीबीच समन्वय, स्वास्थ्यकर्मीलाई उपचारमा सहयोग तथा परिवारका सदस्यबीच सम्पर्क स्थापित गर्न सहज हुने बताइएको छ ।