चीनतर्फ १०४ जना नेपाली बेपत्ता

अनलाइनसमय |
१४ भदौ २०८३
चीनतर्फ १०४ जना नेपाली बेपत्ता

काठमाडौं, १४ भदौ । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार चीनको तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले पत्रकार सम्मेलनमा आयोजना गरेर बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएको जानकारी दिएको हो ।

सीजीटीएनका अनुसार, यस विपद्मा परी कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन् । सार्वजनिक गरिएको विवरणअनुसार बेपत्ता विदेशी नागरिकहरूमा १०४ जना नेपालीसहित, ४९ जना भारतका, ३३ जना लाटभियाका, १८ जना अमेरिकाका, १५ जना बेलायतका, ६/६ जना अस्ट्रेलिया र क्यानडाका, ४ जना दक्षिण अफ्रिकाका, ३/३ जना जर्मनी, मलेसिया र रूसका रहेका छन् ।

त्यस्तै इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २/२ जना र फिनल्यान्ड, हङ्गेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका १/१ जना रहेका सीजीटीएनले जनाएको छ ।

बेइजिङस्थित अधिकारीहरूले यसबारे सम्बन्धित देशका कूटनीतिक नियोगहरूलाई जानकारी गराइसकेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस