धितोपत्र बोर्डमा नयाँ नेतृत्व, बढ्यो लगानीकर्ताको आशा र अपेक्षा (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२६ असार २०८३
धितोपत्र बोर्डमा नयाँ नेतृत्व, बढ्यो लगानीकर्ताको आशा र अपेक्षा (भिडियो रिपोर्ट)

काठमाडौं, २६ असार । नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लामो समयपछि नयाँ नेतृत्व पाएको छ । यससँगै सम्बद्ध सरोकारवालाको बजारप्रतिको आशा र अपेक्षा बढेको छ । धितोपत्र बजारकै विषयमा विद्यावारिधि गर्नुभएको र वित्तीय क्षेत्रको समेत जानकार डा. गोपालप्रसाद भट्टले गत सातादेखि बोर्डको कार्यभार सम्हाल्नुभएको छ । दुई महिनादेखि नेतृत्वविहीन बनेको बोर्डमा नयाँ अध्यक्ष आएसँगै बजारसँग सम्बन्धित रोकिएका काम मात्र होइन, सुधारका लागि गर्नुपर्ने काम समेत धेरै छन् ।

धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा धेरै नीतिगत निर्णय रोकिएका थिए । अहिले पनि एक सयभन्दा बढी कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा छन् । साथै बजार नियमन कमजोर हुँदा चलखेल बढ्ने, लगानीकर्ताको विश्वास घट्ने तथा बजारप्रति अन्योलको अवस्था थियो । यस्तो अवस्थामा नयाँ नेतृत्वलाई रोकिएका प्रक्रिया छिटो अघि बढाउने, बजारमा विश्वास फर्काउने र नियमन प्रभावकारी बनाउने चुनौती छ ।

धितोपत्र बजारमा लामो समयदेखि देखिएको गतिरोधले अहिले आम शेयर लगानीकर्ताको मनोबल खस्किएको छ । साथै लगानीकर्ताको हकहित संरक्षण, वित्तीय साक्षरता र बजारको चुस्त सुपरिवेक्षण समेत नयाँ नेतृत्वबाट अपेक्षित कामहरू हुन् ।

यसैबीच, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नवनियुक्त अध्यक्ष भट्टलाई दर्जनौं सुझाव बुझाएको छ । संघले एनआरएन तथा विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा भित्र्याउन, डिम्याट र केवाईसी प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्न र पूँजी बजार सुधारका लागि ‘क्यापिटल मार्केट टास्क फोर्स’ तत्काल गठन गर्न सुझाव दिएको छ । यसैगरी अनुसन्धानका क्रममा ब्रोकर कम्पनीहरूको मूल बैंक खाता नै रोक्का हुने परिपाटी अन्त्य गर्न र शेयर कारोबारमा २५ प्रतिशत अग्रिम रकम लिने व्यवस्थालाई स्वविवेकमा छोड्न आग्रह गरिएको छ ।

नेपालको पूँजी बजार अझै पनि विकासकै चरणमा छ । यसलाई थप पारदर्शी, विश्वसनीय र दिगो बनाउन स्पष्ट नीति र दूरदृष्टिको आवश्यकता छ । साथै लगानीका नयाँ उपकरण सञ्चालन र नीतिगत सुधाले बजारले सही दिशा लिनुका साथै र लगानीकर्ताको गुम्दै गएको विश्वास पुनःस्थापित हुन सक्छ ।

नेपालको धितोपत्र बजारमा लगानीकर्ता सहभागिता बढ्दै गएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाता ७९ लाख ७२ हजार पुगेको छ भने मेरो शेयर प्रयोगकर्ता ५२ लाख बराबर छन् । यस्तै सूचीकृत कम्पनीको संख्या २८३ रहेको छ भने १९ अर्ब ४ करोडभन्दा बढी शेयर बजारमा कायम छन् । हालको कुल बजार पूँजीकरण ४५ खर्ब ५६ अर्ब बराबर रहेको छ ।

बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस