प्रणालीमा प्रशस्त पैसा, बजारमा किन देखिएन चलायमानता ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
५ असार २०८३
काठमाडौं, ५ जेठ । वित्तीय क्षेत्रमा हामी प्रायः ‘मुद्राप्रदाय’ अर्थात् ‘मनि सप्लाई’ भन्ने शब्दावली धेरै सुन्छौं । तर के तपाईंलाई थाहा छ ? के हो मुद्राप्रदाय ? हो, मुद्राप्रदायलाई सजिलो भाषामा ‘बजारमा कायम कुल पैसा’ भनेर बुझ्न सकिन्छ । अर्थशास्त्रमा यसलाई मुख्यतः दुई भागमा विभाजन गरिएको छ– संकुचित मुद्राप्रदाय र विस्तृत मुद्राप्रदाय । संकुचित मुद्राप्रदायमा सर्वसाधारणले दैनिक प्रयोग गर्ने नगद तथा चालु खाताको पैसा पर्छ भने विस्तृत मुद्राप्रदायमा त्यसबाहेक बचत, मुद्दती निक्षेप र अन्य वित्तीय निक्षेपहरू समेत समावेश हुन्छन् ।
नेपाल राष्ट्र बैंकको गत वैशाखको तथ्यांकअनुसार विस्तृत मुद्राप्रदाय १५.२ प्रतिशतले बढेको छ । यस्तै, संकुचित मुद्राप्रदाय पनि २० प्रतिशतले वृद्धि भएको छ, जसले चलनचल्तीमा रहेको नगद तथा तत्काल प्रयोगयोग्य पैसाको आपूर्ति बढेको देखाउँछ । यद्यपि, प्रणालीमा पर्याप्त तरलता उपलब्ध भए पनि पैसाको चलायमानता भने सुस्त छ ।
तथ्यांकले पैसाको आपूर्ति बढेको देखाए तापनि अहिले बजारमा उद्यमी, व्यवसायी र सर्वसाधारणले ‘नगद प्रवाह सुक्यो’ भन्नुको मुख्य कारण पनि बजारमा वित्तीय कारोबारको चक्रमा शिथिलता नै हो ।
रेमिट्यान्समा भएको वृद्धिले पनि अहिले बैंक प्रणालीमा तरलता थुप्रिएको छ । यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले बजारबाट १० महिनामै ३७२ खर्बभन्दा बढी पैसा खिचेको छ । प्रशस्त लगानीयोग्य रकम भएर पनि कर्जा बढ्न नसक्नुमा माग पक्ष मात्र होइन, बैंकहरूको खराब कर्जा, गैरबैंकिङ सम्पत्ति र पूँजी पर्याप्तताको दबाबलाई समेत कारकका रूपमा विश्लेषण गरिएको छ ।
गत वैशाखसम्ममा बैंकहरूको कर्जा वृद्धि ५.७ प्रतिशतमा सीमित छ, जुन विस्तृत मुद्राप्रदायको तुलनामा निकै कम हो । यसको अर्थ बैंकिङ प्रणालीमा पैसा भए पनि उद्योग व्यापार र उपभोगमा त्यो कम उपयोग भइरहेको छ ।
समग्रमा पैसाको आपूर्ति बढ्नु राम्रो हो । यससँगै कर्जा लगानीमार्फत आर्थिक गतिविधि बढाउनु अहिलेको प्रमुख आवश्यकता र चुनौती हो । यसका लागि सरकारको सहयोगी नीति र निजीक्षेत्रको समन्वयको आवश्यकता औंल्याइएको छ ।
बैंकिङ प्रणालीमा हाल ८० खर्ब २६ अर्ब निक्षेप छ भने ५९ खर्ब ८ अर्ब कर्जा प्रवाह भएको छ । यस आधारमा कर्जा–निक्षेप अनुपात ७२.९३ प्रतिशतमा कायम छ, जुन नियामकले तोकेको ९० प्रतिशतको अधिकतम सीमाभन्दा निकै तल हो । यसले बैंकिङ प्रणालीमा कर्जा विस्तारका लागि पर्याप्त ठाउँ रहेको देखाउँछ ।
बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :