किन घट्यो बीमालेख समर्पण तथा व्यतीत संख्या ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
२६ वैशाख २०८३
काठमाडौं, २६ वैशाख । नेपालमा बीमाको पहुँच पहिलोपटक ५० प्रतिशतभन्दा बढी जनसंख्यामा पुगेको छ, जुन आफैमा एउटा सुखद उपलब्धि हो । यससँगै बीमा बजारमा अर्को एउटा सकारात्मक पक्ष पनि देखिएको छ । विगतका वर्षहरूमा प्रायः बढ्ने गरेको बीमालेख समर्पण तथा व्यतीत हुने संख्या यो वर्ष उल्लेख्य घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको ९ महीनामा बीमालेख समर्पण १४ प्रतिशतले घटेको छ । त्यस्तै, व्यतीत बीमालेखको संख्या करीब २ प्रतिशतले खुम्चिएको छ ।
यद्यपि बीमालेख समर्पण तथा व्यतीत संख्यामा सुधार देखिए तापनि सन्तोषजनक अवस्था भने छैन । किनकि बीमालेख समर्पणबापत ९ महिनामै साढे १० अर्ब फिर्ता भएको छ । यस्तै १२ लाखभन्दा बढी व्यतीत बीमालेखबाट झन्डै ३८ अर्ब बीमाशुल्क उठ्न बाँकी छ । बीमितले अझै पनि ठूलो संख्यामा बीचैमा पोलिसी छोड्नुमा आर्थिक समस्या, बीमा शिक्षाको कमी र बीमालेखको गलत ‘विक्री शैली’ मुख्य कारण रहेका छन् ।
हुन पनि बीमा चेतनाको अभावमा धेरैलाई लाग्न सक्छ– पैसा आवश्यक पर्दा समर्पण नै उत्तम विकल्प हो । तर, वास्तविकता त्यस्तो छैन । किनकि ३ वर्ष नपुगी बीमालेख समर्पण गर्दा पैसा फिर्ता पाइँदैन । यस्तै ३ वर्षपछि पनि खर्च कटाएर आफूले बुझाएकोभन्दा कमै मात्र हात पर्छ । बीमालेख समर्पण र व्यतीत बीमालेखले बीमितलाई वित्तीय नोक्सानीका साथै आपत्कालीन अवस्थामा बीमाको लाभबाट वञ्चित गराउँछ ।
बीमा व्यवसायको दिगो विकासका लागि बीमालेख खरीदविक्री हुनु मात्र महत्वपूर्ण होइन । त्यसलाई निर्धारित समयसीमासम्म जारी नराखे बीमा गर्नुको उद्देश्य पूरा हुँदैन । साथै यसले कम्पनीको सञ्चालन खर्च बढ्ने र बीमाप्रति नकारात्मक सन्देश जान सक्ने भएकाले समग्र बीमा व्यवसाय नै प्रभावित हुन सक्छ ।
बीमालेख समर्पण तथा व्यतीत हुने संख्या घटाउन बीमा साक्षरतालाई व्यापक बनाउनुपर्ने देखिएको छ । बीमितले आफ्नो क्षमता हेरेर मात्र बीमा गर्ने, अभिकर्ताले पारदर्शिता अपनाउने र कम्पनीले समेत बीमालेख नवीकरणका लागि प्रभावकारी फलोअप गरे मात्र अहिले देखिएको सुधारले निरन्तरता पाउनेछ ।
समग्रमा, मुलुकको आधा जनसंख्यामा बीमाको पहुँच पुग्नु गौरवको कुरा हो । तर, बीमा गरेको पहिलो केही वर्षमै बीमालेख त्याग्नु आफ्नो सुरक्षाको साँचो आफैले फाल्नु सरह हो । तथ्यांकमा देखिएको सुधारलाई अवसरका रूपमा लिँदै बीमालाई बचत तथा ‘लगानी’ मात्र होइन, ‘अनिवार्य सुरक्षा’को रूपमा बुझ्न र बुझाउन जरुरी छ ।
बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :