
काठमाडौं, १७ चैत । विश्वप्रसिद्ध सांगीतिक प्रतिस्पर्धा ‘युरोभिजन’ अब पहिलोपटक एसियाली संस्करणका रूपमा आयोजना हुने भएको छ । युरोपेली प्रसारण संघ (ईबीयू)ले सन् १९५६ देखि सञ्चालन गर्दै आएको यो प्रतिष्ठित प्रतियोगिता ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ का रूपमा थाइल्यान्डको बैंककमा विस्तार हुन लागेको हो ।
आयोजकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी नोभेम्बर १४ मा बैंककस्थित आइडियालाइभ एरिनामा आयोजना हुनेछ । यससँगै विश्वकै चर्चित लाइभ म्युजिक शोले एसियामा नयाँ अध्याय सुरु गर्ने तयारी गरेको छ ।
यस पहिलो संस्करणमा नेपालसहित कम्तीमा १० देश सहभागी हुनेछन् । दक्षिण कोरिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनाम, मलेसिया, कम्बोडिया, लाओस, बंगलादेश, नेपाल र भुटान सहभागी हुने पुष्टि भएको छ भने आगामी दिनमा थप देश जोडिने जनाइएको छ ।
नेपालबाट भने हिमालय टेलिभिजनले आधिकारिक प्रसारण साझेदारको जिम्मेवारी पाएको छ । सोही टेलिभिजनले नेपालको प्रतिनिधि छनोटका लागि राष्ट्रिय अडिसन आयोजना गर्नेछ र कार्यक्रम प्रसारणसमेत गर्नेछ । यसले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार अर्को सातादेखि नेपालमा अडिसन प्रक्रिया सुरु गरिनेछ । उनले दिएको जानकारीअनुसार आगामी सेप्टेम्बर १९ मा नेपालको प्रतिनिधि चयन गरिनेछ । चयनित कलाकारले बैंककमा हुने ग्रान्ड फिनालेमा ब्यान्डसहित आफ्नो प्रस्तुति दिनेछन् ।

प्रतियोगिताको मूल स्वरूपअनुसार प्रत्येक देशले आफ्नै मौलिक गीत प्रस्तुत गर्नेछन् । यसअघि कुनैपनि प्लाटफर्ममा सार्वजनिक नभएको नयाँ र मौलिक सिर्जनाबीच प्रतिस्पर्धा हुनेछ । सहभागी देशहरूले एकअर्कालाई मत दिने प्रणालीमार्फत विजेता चयन गरिनेछ, जसमा दर्शक मत र निर्णायक समूहको संयोजन रहनेछ ।
७ दशकभन्दा बढी इतिहास बोकेको युरोभिजनले हरेक वर्ष करोडौं दर्शकलाई आकर्षित गर्दै आएको छ । अब एसियामा सुरु हुन लागेको यस संस्करणले यहाँको सांस्कृतिक विविधता, सिर्जनात्मकता र सांगीतिक पहिचानलाई विश्वमञ्चमा जोड्ने विश्वास गरिएको छ ।
आयोजक संस्थाका अनुसार एसियाली संस्करणले करिब ६० करोडभन्दा बढी जनसंख्या समेटिएको बजारलाई जोड्नेछ । साथै, डिजिटल प्लेटफर्ममार्फत दर्शक सहभागिता र अन्तरक्रियालाई अझ विस्तार गर्ने तयारी गरिएको छ ।
बैंककलाई होस्ट सिटीका रूपमा छनोट गर्नु पनि विशेष मानिएको छ । परम्परा र आधुनिकताको संगमका रूपमा परिचित यो शहरले अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम आयोजना गर्ने क्षमता राख्ने भएकाले युरोभिजन एसियाका लागि उपयुक्त स्थल ठहर गरिएको हो ।
‘युरोभिजन एसिया’लाई दीर्घकालीन परियोजनाका रूपमा अघि बढाइने बताइएको छ । हरेक वर्ष आयोजना हुँदै जाने यो प्रतिस्पर्धाले एसियाली संगीत उद्योगलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।