३३ वर्षदेखि भारूसँग स्थिर विनिमयदर अब पुनरवलोकनको बेला भएको हो ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१५ फागुन २०८२
काठमाडौं, १५ फागुन । तपाईंको घरमा विदेशबाट पैसा आउँछ ? अध्ययन वा उपचारका लागि बाहिर जानुभएको छ ? वा घुम्न जाँदा विदेशी मुद्रा साट्नुभएको छ ? यी सबै अवस्थामा एउटा कुरा समान छ– त्यो हो विदेशी विनिमय । हामीमध्ये धेरैले डलर, भारू वा अन्य मुद्रा साटेका हुन्छौं । त्यसका लागि कहिले बढी नेपाली रुपैयाँ तिरेका हुन्छौं त कहिले कम । तर के हामीले कहिल्यै सोचेका छौं, यो दर कसरी निर्धारण हुन्छ ? कहिले किन बढ्छ, किन घट्छ ? नेपालजस्तो रेमिट्यान्समा आधारित अर्थतन्त्रमा विनिमय दर केवल नीतिगत मात्र होइन, हरेक घरपरिवारको दैनिक जीवनसँग पनि जोडिएको विषय पनि हो ।
विनिमय दर भनेको एक देशको मुद्रा अर्को देशको मुद्रासँग साट्दा लाग्ने मूल्य हो । उदाहरणका लागि, १ अमेरिकी डलर बराबर कति नेपाली रुपैयाँ पर्छ, त्यो विनिमय दर हो । कुनै पनि मुलुकको व्यापार घाटा वा बचत, मुद्राको माग तथा आपूर्ति, मुद्रास्फीति, ब्याजदर, भुक्तानी सन्तुलन, विदेशी लगानीजस्ता तत्वले विनिमय दरलाई प्रभाव पार्छन् । स्थिर, चलायमान र व्यवस्थित चलायमान गरी विनिमय दर मुख्य रूपमा तीन किसिमको हुन्छ । नेपालले भने भारूसँग स्थिर विनिमय दर राखेर सोहीअनुसार डलर लगायत अन्य विदेशी मुद्राको विनिमय दर दय हुँदै आएको छ ।
भारत नेपालको प्रमुख व्यापारिक साझेदार भएकाले स्थिर विनिमय व्यवस्थाले कारोबारमा सहज भएको छ । साथै यसले नेपाली मुद्राप्रतिको विश्वास बढाउन समेत टेवा पुगेको छ ।
त्यसो त स्थिर विनिमय दरको नकारात्मक पक्ष पनि छन् । भारतीय मुद्राको उतारचढावको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने गरेको छ । अर्थात् भारु अमेरिकी डलरसँग कमजोर हुँदा नेपाली मुद्रा पनि स्वतः कमजोर र बलियो हुँदा स्वतः बलियो हुन्छ । नेपालको अर्थतन्त्र कमजोर, तर मुद्रा बलियो भएमा निर्यात महँगो पर्छ । यसको उल्टो, कमजोर हुँदा आयात महँगो भई महँगी बढ्न सक्छ ।
सन् १९९३ देखि भारूसँग एउटै दर कायम रहँदा नेपालमा आर्थिक एवं संरचनागत रूपमा धेरै परिवर्तन भइसकेका छन् । मुख्यतः विदेशी मुद्रा सञ्चिति पर्याप्त हुँदा पनि आन्तरिक आर्थिक गतिविधि सुस्त हुनु, उत्पादन क्षेत्र कमजोर रहनु जस्ता संकेतले अब भारूसँगको विनिमय दरमा पुनरावलोकन आवश्यक भएको विश्लेषण गरिएको छ ।
नेपाल र भारूको स्थिर विनिमय दरको इतिहास
सन् १९६० मा पहिलोपटक भारु १ बराबर नेपाली १ रुपैयाँ ६० पैसाको दर कायम गरिएको थियो । त्यसपछि सन् १९६६ मा भारु अमेरिकी डलरसँग कमजोर भएपछि यो दर १ रुपैयाँ १ पैसा कायम गरियो । सन् १९६७ मा पुनः १ रुपैयाँ ३५ कायम गरियो । त्यसपछि १९८५ मा १ रुपैयाँ ७० पैसा, ८६ मा १ रूपैयाँ ६८ पैसा, ९१ मा १ रुपैयाँ ६५ पैसा हुँदै ९३ देखि भारू १ बराबर नेपाली १ रुपैयाँ ६० पैसामा कारोबार हुँदै आएको छ ।
बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो