६२.६८ प्रतिशतले घट्यो पर्यटन क्षेत्रमा वैदेशिक लगानी, कृषिमा उच्च वृद्धि

अनलाइनसमय |
२ फागुन २०८२
६२.६८ प्रतिशतले घट्यो पर्यटन क्षेत्रमा वैदेशिक लगानी, कृषिमा उच्च वृद्धि

काठमाडौं, २ फागुन । पछिल्लो एक वर्ष अवधिमै पर्यटन क्षेत्रमा आउने वैदेशिक लगानी प्रतिबद्धता ६२ दशमलव ६८ प्रतिशतले घटेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को सात महिनासम्ममा पर्यटन क्षेत्रमा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, यो १५० परियोजना स्थापना गर्नका लागि आएको हो । गत आवको सात महिनामा यस क्षेत्रका १६८ उद्योगका लागि १७ अर्ब ३२ करोड ७५ लाख रुपैयाँको प्रतिबद्धता आएको थियो ।

समग्रमा भने यस्तो प्रतिबद्धता ५४ दशमलव ७८ प्रतिशतले बढेको छ । पछिल्लो वर्ष कृषि, सेवामुलक र आईटी क्षेत्रमा लगानी प्रतिबद्धता बढ्दा समग्रमा बढेको देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानीमा वृद्धि भएको छ ।

गत वर्षको तुलनामा कृषि क्षेत्रको लगानीमा मात्रै २,९५६ प्रतिशतको वृद्धि भएको छ । गत वर्षको माघसम्ममा कृषि क्षेत्रमा ७४ करोड १० लाख लगानी प्रतिबद्धता आएकोमा यस वर्षको यसै अवधिमा बढेर २१ अर्ब ९० करोड ८० लाख आएको छ । त्यस्तै आईटी क्षेत्रमा गत वर्ष ८० करोड ६८ लाख प्रतिबद्धता आएकोमा यस वर्ष यस क्षेत्रमा १ अर्ब २५ करोड ९४ लाख प्रतिबद्धता जनाएका छन् । सेवामुलक क्षेत्रमा ३ अर्ब ५४ करोड र उत्पादनमुलक क्षेत्रमा २ अर्ब ४० करोड लगानी प्रतिबद्धता आएको छ ।

विभागको तथ्याङ्क अनुसार चालू आवको माघसम्ममा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा ५५८ उद्योगका लागि ४४ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सोही महिनाको तुलनामा ५४ दशमलव ७८ प्रतिशतले बढी हो । गत आवको माघसम्ममा यस्तो प्रतिबद्धता २८ अर्ब ७८ करोड १७ लाख रुपैयाँ मात्रै आएको थियो ।

चालू आवको माघसम्ममा अप्रुभल रूटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो महिनामा अप्रुभल रूटबाट १७३ उद्योगका लागि ३७ अर्ब ३ करोड २४ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अटोमेटिक रूटबाट ३५१ उद्योगका लागि ३ अर्ब २५ करोड ९ लाख र शेयर खरिदबाट ३४ उद्योगमा ४ अर्ब २६ करोड ६६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

सो अवधिमा ५०७ वटा साना उद्योग र ८ वटा मझौला र ८ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा २० हजार ८९६ जनाले रोजगारी पाउनेछन् ।

सुरुदेखि चालू आवको माघसम्म विदेशी लगानीकर्ताले ७ हजार ७६२ उद्योगका लागि ६ खर्ब ७६ अर्ब ४८ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ३ लाख ६२ हजार ३८५ जनाले रोजगारी पाउनेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस