के हो जोखिममा आधारित बैंक वर्गीकरणको अन्तर्य ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२६ पुष २०८२
के हो जोखिममा आधारित बैंक वर्गीकरणको अन्तर्य ? (भिडियो रिपोर्ट)

काठमाडौं, २६ पुस । नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई अहिले चार वर्गमा बाँडिएको छ । ‘क’ वर्गको वाणिज्य बैंक, ‘ख’ वर्गको विकास बैंक, ‘ग’ वर्गको वित्त कम्पनी र ‘घ’ वर्गको लघुवित्त कम्पनी । कार्यक्षेत्र र चुक्तापूँजीका आाधारमा बैंकहरूको वर्गीकरण गरिएको हो ।

तर बैंकहरूको उक्त वर्गीकरणमा पुनरवलोकन हुनुपर्ने विषय लामो समयदेखि उठ्दै आएको छ । यसै सन्दर्भमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले जोखिम तथा सुशासनको सूचकका आधारमा बैंकहरूको वर्गीकरण गर्न सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको कार्यदलको प्रतिवेदनमा ‘आधारभूत नियमन, अधिक सुपरिवेक्षण’को अवधारणामा बैंकहरू वर्गीकरण गरी सोही आधारमा नियमन तथा प्रोत्साहन गर्न सुझाइएको छ ।

कार्यदलले ग्राहक सेवा, राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको जोखिम व्यवस्थापनको मूल्यांकन, कारबाही, वित्तीय स्वास्थ्य जस्ता सूचकका आधारमा बैंकहरूलाई पहिलो, दोस्रो र तेस्रो वर्गमा वर्गीकरण गर्न सुझाव दिएको हो । साथै वर्गीकरण अनुसार छुट्टाछुट्टै निर्देशन तथा परिपत्र र पहिलो वर्गमा पर्ने संस्थालाई स्वनियमनको अधिकार र सम्मानजस्ता कार्यबाट प्रोत्साहन गरिनुपर्ने कार्यदलको सुझाव छ । यद्यपि नेपालको सन्दर्भमा स्वनियम उत्तरदायित्वभन्दा विशेषाधिकारमा परिणत हुन सक्ने जोखिम रहेको औंल्याइएको छ ।

कार्यदलका सुझावअनुसार पूर्वगभर्नर वा बैंकिङ क्षेत्रको प्रतिष्ठित व्यक्तिको संयोजकत्वमा समिति बनाउने र ५ वर्षको तथ्यांकका आधारमा बैंकहरूको वर्गीकरण गर्न सकिनेछ । प्रत्येक वर्ष साउनमा वर्गीकरण र वर्गअनुसार छुट्टाछुट्टै परिपत्र तथा निर्देशन जारी गरी नियमन तथा सुपरिवेक्षण गर्न सकिने सुझाइएको छ । यस्तै कैफियतहरूमा हुने आर्थिक जरीवानामा समेत तेस्रो वर्गमा पर्नेलाई १० प्रतिशत बढी लाग्ने व्यवस्था गर्न कार्यदलको सुझाव छ ।

सुशासन कायम गरेका आधारमा बैंकहरूलाई पुरस्कार र दण्डको प्रणाली बसाल्नुपर्ने सुझाव सैद्धान्तिक रूपमा सही हो । तर, आवश्यक सुधार पनि गलत ढंगले कार्यान्वयन भएमा त्यो समस्याको स्रोत बन्न सक्छ । अतः बैंकिङ सुशासनका लागि अन्तरराष्ट्रिय असल अभ्यास भित्र्याएर चुस्त नियमन तथा सुपरिवेक्षणमै बढी जोड दिइएको छ ।

कार्यदलले बैंकिङ क्षेत्रका सुधारका सम्बन्धमा ६ ओटा एजेन्डामा सुझाव दिएको छ । जसमा बैंकिङ क्षेत्र नियमन, आर्थिक गतिविधि बढाउन बैंकको भूमिका, ग्रामीण क्षेत्र कर्जा प्रभावकारिता, बैंकहरूको मर्जर तथा एक्विजिशन, नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट हटाउने र पूँजीबजार विकासमा बैंकङको भूमिकासम्बन्धी थिए ।

यस्तो छ बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस